काठमाडौं, ११ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री किराँतीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएकोमा माफीसमेत मागे। उनले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजना समेट्न नसकेको बताए।
उनले सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको टिप्पणी गरे। मन्त्री किराँतीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताए। त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उनले उल्लेख गरे।
उनले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानबिन गरिरहेको बताए। उनले विमानस्थल थप्नेभन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको पनि स्पष्ट पारे।








प्रतिक्रिया