देश

भ्रष्टाचारविरुद्धको लडाइँ अझै रोकिने छैनः प्रधानमन्त्री प्रचण्ड



काठमाण्डौ, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ अझै नरोकिने बताउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दै उहाँले वर्षौँदेखि डुङ्गुरको रूपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरूविरुद्धको लडाइँ नरोकिने बताउनुभएको हो ।

बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हात पारेसँगै उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दाबीसमेत गर्नुभयो । प्रधानमन्त्रीले आफूले सरकार सञ्चालन गरेयता सबैभन्दा ठूलो उपलब्धि नागरिकमा सरकार र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकिर पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले सुशासन सरकारको उच्च प्राथमिकता भनेर संसदमा सङ्कल्प गरेको थिएँ । यसबीचमा सरकारको सबैभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति नागरिकमा जगाएको भरोसालाई मानेको छु । मैले नेतृत्व लिँदै गर्दा नागरिकमा सरकारप्रति रहेको असन्तोष र आवेगमा अहिले सुधार भएको छ । हाई प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनिरहेको थियो । त्यसले नागरिकमा ठूलो आक्रोश जन्माइरहेको थियो । त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो । र नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठूलो अनुसन्धान र कारबाहीपछि नागरिकमा विश्वास जाग्न सुरु भएको छ । यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण पनि शुरु भएको छ । यो शुद्धीकरण यतिमा रोकिने छैन । यो निरन्तर अगाडि बढ्नेछ । हिजोदेखि प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको छ ।’

प्रधानमन्त्री प्रचण्डले देशमा सुशासनका लागि अभियान नै सुरु गरेको उल्लेख गर्दै त्यसमा सदन र आम नेपालीले सरकारलाई अझ धेरै साथ दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

प्रकाशित : १३ असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६