प्रदेश

लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनमा सघाउन एमाले तयार



काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनमा सघाउन तयार भएको छ । गएराति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको छलफलपछि एमालेले बैठकमा अवरोध नगर्न तयार भएको हो ।

बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले बैठकमा अवरोध गर्दै आएको थियो । मंगलबारको बैठक एमालेले बहिष्कार गरेको थियो । यद्यपि एमालेको बहिस्कारका बीच आर्थिक वर्ष २०८०/ ८१ को बजेट प्रदेश सभाले पारित गरेको थियो ।

बुधबार दिउँसो १ बजे पनि प्रदेश सभाको बैठक राखिएको छ । बैठकको पूर्वसन्ध्यामा सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चौधरी, नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरीसहितको बैठक बोलाएका थिए ।

सो बैठकमा एमालेले उठाउँदै आएका मागका सम्बन्धमा मुख्यमन्त्री चौधरीले आजको बैठकमा सम्बोधन गर्ने र एमालेले सदन संचालनमा अवरोध नगर्ने सहमति भएको एमालेका प्रमुख सचेतक चौधरीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले पनि सदन सन्चालनबारे सहमति जुटेको बताए । उनले आजको बैठकमा सबैभन्दा पहिले मुख्यमन्त्री चौधरीले सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी दिए ।

एमालेले असार १३ गतेदेखि बजेटमाथिको छलफलमा अवरोध गर्दै आएको थियो । मंगलबारको बैठकमा एमालेले बजेट किताब च्यातेर बहिस्कार गरेको थियो । त्यसपछि सभामुख घर्तीमगरले बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गरेका थिए । लगत्तै उनले नै सदनको काम कारबाही अघि बढाउनका लागि पहल सुरु गरेका थिए ।

प्रकाशित : २० असार २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६