प्रदेश

कोहलपुरलाई हरित सहर बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री चौधरी



दाङ, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँकेको कोहलपुर नगरपालिकालाई हरित सहरका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति चुरे (तराई मधेस संरक्षण समितिअन्तर्गत बाँकेको कोहलपुरस्थित कोहलपुर) नेपालगञ्ज सडकको साझा चोकदेखि हाई स्कुल चोकसम्म आज आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा सहभागी मुख्यमन्त्री चौधरीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री चौधरीले सिमेन्ट र सरियाको सहरभन्दा पनि कोहलपुरलाई हरियाली सहरका रुपमा चिनाउनुपर्ने बताए । “अहिले सिमेन्ट र सरियाले सहरको हरियाली उजाडिएको छ”, उनले भने, “कोहलपुर नगरपालिकाले हरित नगरका लागि थालेको अभियानमा प्रदेश सरकारको पूर्णसाथ छ । कोहलपुर प्रदेशको हरियाली नमूना सहर बन्नुपर्छ ।”

उनले नगरवासीलाई बोटबिरुवा रोप्नुमात्र ठूलो कुरा नहुने बताउँदै संरक्षण महत्त्वपूर्ण कुरा भएको बताए । मुख्यमन्त्री चौधरीले घरघरमा रोप्ने बिरुवा र सडक सडकमा रोप्ने बिरुवाको पहिचान गरेरमात्र वृक्षरोपण गर्न पनि सुझाव दिए । बिरुवा संरक्षणमा स्थानीयवासीको चासो बढाउनका लागि जनताले रुचाएका बिरुवा रोप्न नगरप्रमुखलाई उनले सुझावसमेत दिए ।

कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई हरित सहर बनाउने अभियानमा स्थानीय सरकार लागिपरेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । नगरप्रमुख आचार्यले माटोको ल्याब परीक्षण गरेर माटो सुहाउँदो बिरुवा रोपिएको जानकारी दिए । बाह्रै महिना हरियाली हुने बोटबिरुवा रोपिएको जानकारी दिँदै उनले नगरलाई हरित नगर बनाउने अभियानमा हातेमालो गर्न उनले नगरवासीलाई आह्वानसमेत गरे ।

कोहलपुर नगरपालिकाको तीन लाख २५ हजार, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाइ कैलालीको ३३ लाख ४८ हजार र त्यसमा १० प्रतिशत जनश्रमदानमा बिरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष रामु लम्सालले जानकारी दिए । रासस

प्रकाशित : २६ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६