कपिलवस्तु, २७ असार । कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएको छ । गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइको ज्यान गएको हो ।नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालको ज्यान गएको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । सोमवार राति घरमा सुतिरहेको बेला उनीहरुलाई सर्पले डसेको हो । बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि स्थानीय अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा ज्यान गएको हो ।
यसैगरी गत सोमवार बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट ज्यान गएको छ । सर्पले डसेलगत्तै उनलाई गोरुसिङ्गेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।सोमवार नै महाराजगञ्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको पनि सर्पको डसाइबाट ज्यान गएको छ । हिजो दिउँसो घर नजिकै पराल निकाल्ने क्रममा उहाँलाई गोमन सर्पले डसेको थियो ।लगत्तै गोरुसिङ्गे उपचार केन्द्रमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उहाँको पनि बाटोमै ज्यान गएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । जिल्लामा बर्खा लागेसँगै सर्पको बिगबिगी बढिरहेको छ । सर्पबाट जोगिन प्रहरीले सबैलाई अनुरोध गरेको छ । रातीको बेलामा हिडडुल गर्दा टर्च लाईटको प्रयोग गर्ने , घर वरिपरि झारपात गोडमेल गर्ने , रातीमा सुत्ने बेला झुलको अनिवार्य प्रयोग गर्नु पर्ने चिकित्सवको सुझाव छ ।
२७ असार २०८०, बुधबार
प्रतिक्रिया