प्रदेश

लुम्बिनी केबलकारः एक महिनामा ३० हजार पर्यटकले यात्रा गरे



बुटवल,२८ असार । लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् ।
आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत गरी ३ अर्ब ५० करोड लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए ।
एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबलकार चढेका र यस वाहेक विशिष्ट व्यक्तिहरु, कलाकार, सेलिब्रिटीहरु समेत गर्दा करिब ३० हजार जना पुगेका लुम्बिनी केबलकार प्रालिका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । जसमध्ये ८७.९४ प्रतिशत नेपाली, ७.२५ प्रतिशत भारतीय र तेस्रो मुलुकका ११ जना रहेका सैंजूले बताए ।

जेठको १५ दिनमा १७ हजार ५४ जनाले केबलकार चढेकामा असारको २६ दिनमा ११ हजार ६ सय २५ जनाले चढेका छन् । केबलकारले बुटवलको वडा नंं ३ र तिनाउ गाउंपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत,सशष्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ भने जेष्ठ नागरिक,अपांगता भएकालाई पनि टिकटमा छुट दिएको छ ।
बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुर डांडामा टप स्टेशनमा कामाख्या देवी मन्दिर,सय वर्ष पुरानो भगवतिको मन्दिर, भगवान शिवको वाहन नन्दी सहितका धार्मिक स्थल र घुमिफिरका लागि पर्याप्त ठाउं र संरचनाहरु रहेकाले सञ्चालनमा आएको एक महिनामै उल्लेख्य संख्यामा पर्यटकहरु आएका आयोजना प्रमुख गोकुल साउदले बताए ।

२.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन समुन्द्री सतहबाट करिब एक हजार फिट उचाईमा रहेकाले त्यहांको हावापानी गर्मी मौसममा शितल र जाडोमा न्यानो हुन्छ ।
टप स्टेशनमा एक अर्ब ५० करोड लागतमा १५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र स्वीमिङ पुल सहितको पांचतारे होटेल बन्ने प्रकृयामा रहेको प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । केबलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाले एक–एक प्रतिशत पाउने गरी सम्झौता भएको छ । नेपालमा सञ्चालनमा रहेका ६ वटा मध्ये दोस्रो लामो लुम्बिनी केबलकारको टिकट दर ७५० रुपैया रहेको छ ।

लुम्बिनी केबलकार विश्वकै उत्कृष्ट र सुरक्षित प्रविधि मानिने अष्ट्रियन डुपलमेयर कम्पनीबाट बनेकाले ९९.९९ प्रतिशत सुरक्षित हुने अपरेसन म्यानेजर सैंजूले बताए । लुम्बिनी केबलकार सञ्चालनले बुटवल र पाल्पामा नयां पर्यटकीय गन्तव्य थपिएको र यसले पर्यटकको बसाई लम्ब्याउन योगदान पुग्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले बताए । लुम्बिनी केबलकारको सफलताले बुटवलबाट प्रदेशको राजधानी सरेको क्षतिपुर्ति हुन सक्ने भएकाले यस्ता ठूला परियोजना सफल बनाउन सबैको सहयोग हुनुपर्ने अध्यक्ष कसजूले बताए ।

केबलकारले प्रत्येक टिकट मुल्यको एक–एक प्रतिशत रकम दुई वटा स्थानीय तहलाई दिने भएकाले यसबाट बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाको दीर्घकालीन विकासमा ठूलो योगदान पुग्ने तिनाउं गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

प्रकाशित : २८ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६