प्रदेश

दाङमा देखिन थाले डेँगुका बिरामी




दाङ, ०७ साउन । जिल्लामा डेंगुका बिरामीहरू देखिन थालेका छन्। गत जेठ ७ गतेदेखि साउन ४ गतेसम्म ४ जना बिरामीहरूलाई डेंगु पुष्टि भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ। ती बिरामीमध्ये अहिले एकजना अस्पतालमा भर्ना भएको र अरु बिरामीहरूका सामान्य लक्षण देखिएको हुँदा असर नपर्ने भएकाले औषधि दिएर डिस्चार्ज गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए।

उनका अनुसार डेंगु विशेषगरी साउनदेखि मंसिर महिनासम्म बढि देखिने भएकाले गत आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म १५१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो। ७ सयजना बिरामीहरूलाई परीक्षण गर्दा १५१ जनामा डेंगु देखिएको समेत उनले बताए।

उनले भने, ‘बर्खायामको सुरुवातसँगै अब डेँगुको बिरामीहरू बढ्ने क्रम जारी रहेको छ। अहिले पनि अस्पतालमा आएका एक सय जना बिरामीहरूको स्वास्थ्य परीक्षण गर्दा एक-दुई जनामा देखिएको छ।’

डेंगु सार्ने लामखुट्टेले अहिले विशेष गरी बिहान र साँझको समयमा पछाडिबाट शरीरका नांगो भागमा टोक्ने भन्दै उनले यसबाट बच्नको लागि घर आँगन सफा राख्नु पर्ने र लामो कपडा लगाउनु पर्ने र सुत्दा झुलको प्रयोग गर्नुपर्ने बताए।

डेंगु लागेका बिरामीहरूलाई साधारणतया रुघाखोकी लाग्ने, आँखा रातो हुँदै जाने, शरीर दुख्ने, टाउको दुख्ने, खाना मन नलाग्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिनेसमेत उनले बताए।

उनका अनुसार शरीरमा डेंगु धेरै संक्रमित हुँदै गएमा रगत जम्मा गर्ने तत्व प्लेटलेट्स कमी हुँदै जाने र शरीरमा बिबिराहरू आउने आन्तरिक रगत बग्ने हुँदा बिरामीको ज्यान जान सक्छ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका १८ का ३० वर्षीय गणेशबहादुर वलीलाई अहिले डेंगुको संक्रमण भएको छ। उनी केही दिनदेखि अस्पतालमा भर्ना भएका छन्। दिनभर सामान्य जिउ दुखेझैँ हुने तर, रातभर अत्यधिक ज्वरो आएपछि उनले सुरुमा निजी मेडिकलमा चेकजाँच गराएका थिए। त्यहाँ चेक गराउँदा डेंगु देखिएपछि सुरु भएको होरु कि भइसकेको होरु भन्ने बारेमा पत्ता नलागेपछि राप्ती प्रादेशिक अस्पतालमा उपचार गर्न आएको बताए।

त्यस्तै, सरकारी अस्पतालमा मात्र नभई निजी मेडिकल तथा अस्पतालहरूमा पनि डेंगु सङ्क्रमणका बिरामीहरू देखिन थालेका छन्।

तुलसीपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालमा बुधबार २ जना डेंगुका बिरामी भर्ना भएर उपचार गराइरहेका छन्। यस्तै, एकहप्ता अघिदेखि दैनिक २-३ जना डेंगुका बिरामी भेटिने थालेको अस्पतालका प्रबन्ध निर्देशक जीवन भण्डारीले बताए।

तुलसीपुरमा मात्रै नभइ संक्रमित घोराही, लमही क्षेत्रमा पनि डेँगुका बिरामीहरू देखिएका छन्। जिल्लामा गत वर्ष २ हजार ४ सय जना ब्यक्तिमा डेंगु संक्रमण भएको थियो, भने एकजनाको ज्यान गएको थियो।

प्रकाशित : ७ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६