प्रदेश

‘बुटवलको बसपार्क यौन कारोबारका लागि बार्गेनिङ पोइन्ट’



बुटवल, १० साउन । पूर्व–पश्चिम तथा सिद्धार्थ राजमार्गमा पर्ने बुटवल बसपार्कदेखि उत्तरतर्फ करिब १०० मिटरको दुरीमा पैदलयात्रीका लागि बनाइएको आकाशे पुल छ । ईलाका प्रशासन कार्यालय बुटवलको नजिकै रहेको यो आकाशे पुल यौन कारोबारका लागि बार्गेनिङ गर्ने थलोका रुपमा बदनाम हुँदै गएको भन्दै गुनासाहरु बढ्न थालेका छन् । रातको समयमा ग्राहक कुरेर बस्ने यौन व्यवसायीहरुले नजिकै रहेको ईलाका प्रशासन कार्यालयको प्राङ्गणलाई आफ्नो यौन व्यापारको अड्डा बनाएको भन्दै यहाँका व्यवसायी तथा स्थानीयले गुनासो गर्ने गरेका छन् ।

गुनासाहरु बढे पनि यहाँ हुने गतिविधि नियन्त्रणमा प्रहरी प्रशासनले समेत आँट गर्न नसकेको स्थानीयहरुले आरोप लगाउने गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले राखेका गुनासा तथा प्रहरी प्रशासनको जवाफले पनि यहाँका गतिविधि नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको कुरालाई जोड दिएको छ । संघले आयोजना गरेको ‘शान्ति सुरक्षा तथा समसामयिक विषयमा अन्तरक्रिया’ कार्यक्रममा सहभागी व्यवसायी तथा स्थानीयले यस क्षेत्रमा बढ्दै गएको गलत गतिविधिका बारेमा चिन्ता व्यक्त गरेका छन् ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ न्यौपानेले बुटवल बसपार्क यौन व्यवसायका लागि ‘बार्गेनिङ पोइन्ट’ बनेको भन्दै यसलाई सुधारका लागि प्रहरी प्रशासन समक्ष सहयोगको अपेक्षा गरे । न्यौपानेले यस क्षेत्रमा हुने यौनजन्य गतिविधि तथा रातको समयमा पैदल यात्रीमाथि हुने अमानवीय र अभद्र व्यवहारप्रति प्रहरी प्रशासनले निगरानी बढाउन आग्रह गरे ।

संघका पूर्व अध्यक्ष समूद्र जिसी, निवर्तमान अध्यक्ष रामप्रसाद गौतम, संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद खनालले बसपार्क क्षेत्रमा हुने यौनजन्य गतिविधिलाई बन्द गराउन विगतमा आफूहरुले समेत प्रहरी प्रशासनको सहयोगमा पहल गरे पनि सफल हुन नसकिएको गुनासो गरे । उनीहरुले यस्ता गतिविधि नियन्त्रणका लागि प्रशासनलाई कडा भएर प्रस्तुत हुन समेत आग्रह गरे । रातको समयमा यस क्षेत्रमा हुने बार्गेनिङ र पैदलयात्रीहरुलाई हुने लछारपछारले बुटवलको बदनाम गरेको भन्दै व्यवसायीहरुले यसको अन्त्यका लागि सामुहिक पहलको आवश्यकता रहेको औल्याएका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले यस क्षेत्रमा हुने गतिविधि नियन्त्रणका लागि केही चुनौतीहरु रहेको उल्लेख गरे । ‘हामीले सडकमा उभिएका मानिसहरुलाई त्यसै समाउने कुरा भएन । सबैको सामुहिक पहलबाट मात्रै सम्भव छ ।’–थापाले भने ।

प्रहरी प्रशासन विवादित हुने डरका कारण यस क्षेत्रमा हुने अनैतिक गतिविधि नियन्त्रणमा चासो नदिएको स्थानीयहरुले आरोप लगाउने गरेका छन् । यहाँ हुने गलत गतिविधि विरुद्धमा बोल्दा आफूसमेत विवादित र अपमानित हुनु पर्ने डरका कारण स्थानीयहरु समेत खुलेर बोल्न नचाहेको बसपार्क नजिकै व्यवसाय गरेर बस्ने एक व्यवसायीले बताए । साभार

प्रकाशित : १० श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६