देश

पहिरोले पदमार्ग बगाउँदा गाउँमा नाकाबन्दी



म्याग्दी, ११ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर, चक्रीय पदमार्ग र सिम्कोस बगर गाउँ जोड्ने पदमार्ग पहिरोले बगाएको छ।

नाउराको भिरमा पर्ने उजलामा बुधबार दिउँसो खसेको पहिराले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोस बगर, धौलागिरि आधार शिविर र चक्रीय पदमार्गमा आवतजावत बन्द भएको हो। सडक सुविधा नपुगेको सिम्कोश–बगर म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम बस्ती हो।

बगरका बासिन्दासमेत रहेका वडासदस्य हरिप्रसाद तिलिजाले पहिराले पैदलमार्ग बगाएपछि बगर गाउँमा आवतजावत बन्द भएको बताए। ‘बगर र सिम्कोश गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ’, उनले भने, ‘बगर हुँदै धौलागिरि आधार शिविर, हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्गमा जाने पर्यटकका साथै सिम्कोस बगर गाउँमा आवतजावत बन्द भएको छ।’

पदमार्ग बगाएपछि बगर गाउँमा पुग्ने र गाउँबाट बाहिर जान सकेका छैनन्। गाउँ बाहिरको विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थी समस्यामा परेका छन् । बिरामीलाई अस्पताल पुग्न महँगो खर्च गरेर हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आएको छ।

धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बगर पुग्ने वैकल्पिक पदमार्ग पहिचान र मर्मत गरी आवतजावत सहज बनाउन पहल गर्ने बताए। घोडेटो बाटो बन्नुअघिको पुरानो गोरेटोबाटो मर्मत गर्न प्राविधिक टोलीलाई अध्ययनमा पठाउने उनको भनाइ छ।

धौलागिरि चक्रीय पदमार्गमा पर्ने नाउराको भिरमा द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको पदमार्ग निर्माणको काम २०६३ मा नेपाली सेनाले पूर्णताः दिएको थियो । पदमार्ग बनेपछि बगर हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म खच्चर पुग्न थालेका थिए। रासस

प्रकाशित : ११ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६