देश

नयाँ बसपार्कमा झोला तानेर यात्रुलाई दुःख दिने १० जना पक्राउ



काठमाण्डौ, १४ साउन । नेपाल प्रहरीले काठमाण्डौको नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर यात्रुलाई दुःख दिने १० जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोङ्गबुमा रहेको नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल अधिकारीले विभिन्न ठाउँबाट काठमाण्डौ आएका यात्रुलाई जबरजस्ती झोला तानेर हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले शनिवार हिजो मात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये चारजना होटल सञ्चालक रहेका छन् । ‘शुरुको समयमा सम्झाइबुझाइ गरेर छाडेका छौँ, घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ’, उहाँले भन्नुभयो । ‍यो अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष गणेश ढकालले होटल व्यवसायी सङ्घ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताउनुभयो । यात्रुलाई दुःख तथा हैरानी दिने जो–कोहीलाई कारबाही हुनुपर्ने उहाँको भनाइ छ ।

‘यात्रुले शुरुमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाण्डौ आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभाबी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नुहुँदैन’, उहाँले भन्नुभयो ।

सङ्घले पछिल्लो समय होटल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थितरूपमा होटल सञ्चालन गर्नका लागि होटलमा अनिवार्यरूपमा ‘सिसी क्यामेरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ ।

प्रकाशित : १४ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६