अर्घाखाँची, १५ साउन । चिसो हावा र चिसो पानीले प्रसिद्ध अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा मनोज, झपेन्द्र स्मृति पार्कमा सोमवार वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरेको हो । वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, सन्धिखर्क–६ का वडाध्यक्ष श्रीधर महत्रा, मालारानी गाउँपालिका–५ का वडाध्यक्ष तिलक मिश्र तथा कर्मचारीको उपस्थिति थियो ।
नरपानीबाट धेरै हिमाल देख्न पाइने हुनाले यहाँ पर्यटक आउने गर्दछन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या बढेको सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानीलाई प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गर्न र नरपानीमा आएका पर्यटकलाई अझ आकर्षित गर्न वृक्षरोपण तथा सरसफाइ गरिएको कर्मचारी सङ्गठनका जिल्ला सचिव पशुपति खनालले बताउनुभयो ।
पिकनिक स्थलको रूपमा विकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट पनि पर्यटक आउने गरेका छन् । महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा नरपानी पुग्न सकिन्छ । गोरुसिङ्गे–सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटक बढी आउने गरेका सन्धिखर्कका मेयर श्रेष्ठको भनाइ छ ।
सुपादेउरालीमा धार्मिक विश्वासका साथ पाठा, पाठी चढाउन आउने र देउरालीमा चढाएका पाठा, पाठी लिएर नरपानीमा वनभोज जस्तै गरी खाने गरिन्छ । यहाँ वरिपरि हरियाली डाँडा छ । बीचमा समथर भूभाग पनि रहेको छ ।








प्रतिक्रिया