भैरहवा१५ साउन । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कार्यरत संस्था शान्ति पुनःस्थापना गृह बेलहिया रुपन्देहीले विगत पाँच महिनामा बेचबिखनको जोखिममा परेका ७० जना किशोरी तथा युवतीको सीमा क्षेत्रबाट उद्धार गरेको छ ।संस्थाका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले विभिन्न प्रलोभनमा परेर घर परिवारको स्वीकृतिबिना नेपालबाट भारततर्फ जाँदै गरेका २२ जिल्लाका ७० जना नेपाली किशोरी तथा युवतीलाई भारतजाने क्रममा उद्धार गरिएको बताए ।
गत फागुन महिनादेखि रुपन्देहीमा कार्यरत यो संस्थाले बेचबिखनको जोखिममा परेका व्यक्तिलाई उद्धार गर्नका निम्ति रुपन्देहीको बेलहिया ÷सुनौली सिमानाका, लुम्बिनीको कक्रहवा सिमानाका र बुटवलको बसपार्कमा सीमा निगरानी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।सबैभन्दा धेरै उद्धार गरिएकामा रुपन्देहीका १५, रोल्पाका ६, गुल्मी ६, नवलपरासी ४, प्युठानका ४, पाल्पाका ३ जना छन् ।
यस अवधिमा एक महिला र एकजना युवतीलाई भारतबाटै उद्धार गरी पुनःस्थापना गराएको छ । उनीहरूलाई फसाएर भारत लैजानेमध्ये मानव बेचबिखन र जबर्जस्ती करणी अभियोगमा संस्थाले मुद्दा दर्ता गराएको छ ।संस्थाका उद्धार संयोजक भूमिराज भट्टराईले बेचबिखनको जोखिममा परेका मध्ये अधिकांशलाई फेसबुक, म्यासेन्जर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको प्रयोगमार्फत दलालले प्रलोभनमा पारेको पाइएको बताए ।
प्रतिक्रिया