देश

नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही



काठमाण्डौ, १७ साउन । नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागले आर्थिक वर्ष २०७९र८० को अवधिमा ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।

विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत् उपभोक्ता ठगी गर्ने क्रम बढेकाले विभागले विशेष निगरानी बढाइएको छ । ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको पाइएको छ,’ महानिर्देशक मिश्रले भन्नुभयो । विभागले समयमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो ।

सबैभन्दा धेरै काठमाण्डौ कार्यालयले कारबाही गरेको छ । काठमाण्डौ कार्यालयले काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ । गत आवमा काठमाण्डौमा मात्र ११ हजार चार सय ९१ व्यापारी कारबाहीमा परेका छन् । यस्तै, पोखरामा दुई हजार एक सय ८९, बुटवलमा एक हजार दुई सय ४४, नेपालगञ्जमा एक हजार चार सय ७९, सुर्खेतमा पाँच सय एक तथा धनगढीमा एक हजार २६ व्यापारी कारबाहीमा परेका छन् ।

यस्तै, सिलगढीमा दुई सय दुई, वीरगञ्जमा एक हजार चार सय ३६, जनकपुरमा सात सय २५, विराटनगरमा दुई हजार चार सय ६ र झापामा एक हजार तीन सय ३४ व्यापारी कारबाही गरिएको विभागका प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिनुभयो । गुणस्तर र नापतौलका नाममा उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उहाँ बताउनुहुन्छ ।

‘जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाही तीव्र पारेका छौँ,’ प्रवक्ता भट्ट भन्नुहुन्छ । नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने उहाँको भनाइ छ । विभागले देशभर नापतौलका लागि नयाँ इजाजत तथा प्रमाणपत्र दिने, इजाजत नलिएका व्यापारीलाई कारबाही गर्ने, ट्याक्सीको जाँच गर्नेलगायतका कामबाट सात करोड १६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६