प्रदेश

गुल्मी कारागारमा तीन वर्षपछि स्वास्थ्यकर्मी



गुल्मी, २० साउन । तीन वर्षपछि जिल्ला कारागार कार्यालय गुल्मीले बल्ल स्वास्थ्यकर्मी पाएको छ। कारागारमा सिनियर अहेवको दरबन्दी भए पनि २०७७ जेठदेखि स्वास्थ्यकर्मी प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहनुभएको थियो। स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई अस्पताल लैजान र ल्याउनका लागि सुरक्षाकर्मीको भर पर्नुपरेको थियो।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरिप्रसाद गैरेले मन्त्रालयमा कडाइका साथ पत्राचार गरेर काजमा रहेका स्वास्थ्यकर्मी फिर्ता आई साउन १६ गतेदेखि नियमित काममा रहेको बताए।

पछिल्लो समयमा कारागारमा खानेपानी र भवन लगायतको समस्यालाई मर्मत गरेर सुधार गरिएको बताउँदै दीघकालीन रूपमा कारागारलाई सुधार गृहको रूपमा उचित व्‍यवस्थापन गर्ने गरी योजना बनाएर अगाडि बढ्ने गैरेले बताए।

२५ जनाको क्षमता १०२ कैदीबन्दी

विसं २०२४ सालमा स्थापना भएको (ङ) वर्गको कारागारमा २० पुरुष र पाँच महिलाको क्षमता रहे पनि यहाँ अहिले १०२ जना कैदीबन्दी रहेको निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीले जानकारी दिए।

कारागारमा प्रर्याप्त खेलमैदान, उचित बासस्थान र उद्यमी गर्नेहरुका लागि उचित व्‍यवस्था नहुँदा समस्या भएको पन्थीको भनाइ छ। भवन जीर्ण हुनु, प्राविधिक कर्मचारीलाई आबासको समस्या र उचित जग्गा नहुँदा कैदीबन्दीहरूलाई ताजा तरकारी उत्पादन गर्ने गरी व्‍यवस्था गर्न सकेमा उत्तम हुने कार्यालयले जनाएको छ।

जिल्ला कारागार गुल्मीमा १० जना कर्मचारीहरूको दरबन्दी रहेको कार्यालयले जनाएको छ। जसमा अधिकृत १, सि अहेव १, नायव सुब्बा १, खरिदार १, सहायक लेखापाल १, सहायक कम्प्युटर अपरेटर १ र कार्यालय सहयोगी ४ जना गरी १० जनाको दरबन्दी रहेको छ।

कार्यालय प्रमुख काठमाडौं काजमा रहेको र खरिदार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट काज फिर्ताको क्रममा रहेको कार्यालयले जनाएको छ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६