प्रदेश

लुम्बिनी प्रदेशमा मन्त्रालय थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी



रुपन्देही, २१ साउन । लुम्बिनी प्रदेशमा मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको छ । गत वैशाख १५ गते नेपाली कांग्रेसका डिल्ली चौधरीको नेतृत्वमा गठन भएको सरकारलाई पूर्णता दिन मन्त्रालय विभाजनको तयारी भइरहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए । उनले हाल भएका मन्त्रालयलाई विभाजन गरी दुई वटा मन्त्रालय थप्ने र साउन महिनाभित्रै सरकारलाई पूर्णता दिने गृहकार्य भइरहेको बताए ।

सरकार गठन गर्दा सत्तारुढ दलहरूबीच भएको सहमति अनुसार कांग्रेसका ३ र माओवादी केन्द्रका २ मन्त्री बनाउने तयारी रहेको मन्त्री पाण्डेले खुलाए ।

दुई वटा मन्त्रालय थपेपछि अब लुम्बिनी प्रदेशमा १२ वटा मन्त्रालय हुनेछन् । अहिले मुख्यमन्त्रीसहित ७ जना मन्त्री छन् । प्रदेशमा हाल ३ वटा मन्त्रालय खाली छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित हाल १० वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खानेपानी, ग्रामीण तथा सहकारी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हालिरहेका छन् ।

नयाँ दुई वटा मन्त्रालय बनाउन उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालय विभाजन गर्ने गृहकार्य भइरहेको बताइन्छ । नयाँ मन्त्रालयको नाम र कुन मन्त्रालय कसलाई दिने भन्ने अझै टुङ्गो लाग्न बाँकी रहेको प्रदेश सरकारका अर्का एक मन्त्रीले बताए । माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजीत थारुले मन्त्रालय विभाजन गर्ने सहमति पहिला नै भइसकेको बताए ।

उनले भने, ‘हामीले मन्त्रीको नाम फाइनल गरेर पठाएका छौं, सायद उतैबाट कुरा मिलेको छैन ।’ उनले धेरै काम हुने मन्त्रालयलाई विभाजन गरेर मन्त्रालयको संख्या थप्नेबारे मोटामोटी सहमति भएको बताए ।

मन्त्रीका लागि कांग्रेसबाट दलबहादुर राना, विश्व प्रेम पाठक, भुवनेश्वर चौधरी, धनेन्द्र कार्की, निमा गिरी लगायतले कसरत गरिरहेका छन् । माओवादी संसदीय दलले कृष्णा केसी र दीपेन्द्र पुनलाई मन्त्रीको रुपमा सिफारिस गरेको छ ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको विपक्षमा छन् ।

प्रकाशित : २१ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६