प्रदेश

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष लामाद्वारा पदभारग्रहण



लुम्बिनी, २५ साउन । नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले विहिबार पदभार ग्रहण गरेका छन् । बुद्धजन्मस्थल लुम्बिनी स्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभारग्रहण गरी औपचारीक रुपमा कार्यभार समालेका हुन ।

उनलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गरे । उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया स्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गरेका छन् । पदभारग्रहण अघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उच्चो राख्दै काम गर्ने प्रतिबद्धता जनाए । उनले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनी जस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताए ।

उनले आफू लामो समयदेखि बुद्धमार्गमा हिड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए । उनले बुद्धजन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरि काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने बताए । ‘मान्छे हो, कहिलेकाँही बुझाईमा समस्या हुनसक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्नेछैन’ उनले भने ।

उपाध्यक्ष लामाले विश्वमा मानव रहदासम्म बुद्ध र लुम्बिनीको महत्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरु प्रयोग गर्ने बताए । उनले लुम्बिनीलाई पवित्र स्थलका रुपमा परिचित बनाउने गरि काम गर्नका लागि पदाधिकारी, कर्मचारी, स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बौद्धदर्शमा विद्यावारिधी गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रुपमा पाएको बताउँदै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भाषण भन्दा लुम्बिनीका बाँकी गुरुयोजना, लुम्बिनीलाई विश्वभका बौद्धधर्माम्बलम्बीहरुको आस्थाको केन्द्रका रुपमा विकास गर्न काम गरेर नतिजा दिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एंव पूर्वमन्त्री वकिल मुसलमानले डा. ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने बताए । कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सिमति साधन श्रोतबाट काम भइरहेकाले अब बाँकी कामहरु न्वनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास लिए । नवनियुक्त लामाको स्वागतमा लुम्बिनी विकास कोषका पदाधिकारी सहित बोर्ड सदस्य, परिषद सदस्य, कर्मचारी र केहि स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।

यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी) को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते डा. लामालाई उपाध्यक्षका रुपमा नियुक्त गरेको हो । पूर्व राज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका डा. लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।

को हुन लामा

नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा।ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को जन्म सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा वुवा पासाङ फुर्बा र आमा नोर्बु रानीको कोखबाट १० औं कान्छो सन्तानका रुपमा भएको थियो। डा. लामाले बाल्यकाल शिक्षा जन्मस्थान हेलम्बु र त्यसपछि काठमाडौं बौद्धमा आर्जन गरे ।

भगवान गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भनेर अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनहरुमा बताउँदै आएका छन । बौद्ध दर्शनमा विद्यावारिधी (पिएचडी) गर्नुभएका लामासँग अर्थराज्यमन्त्री भएर देशको राजकाज चलाएको अनुवभ छ । यसका साथै संविधानसभा सदस्य भएर संविधान निर्माणमा पनि लामाको योगदान छ ।

डा।लामालाई तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले स्थानीय विकास मन्त्रालयअन्तर्गत गुम्बा व्यवस्था विकास समिति (२०५७–२०६३) को अध्यक्ष नियुक्त गरेको थियो ।

डा. लामाले आफ्नो कार्यकालमा ७५ वटै जिल्लामा विदेशी धर्मको प्रभाव रोकथाम तथा बौद्धमार्गीमा जागरण ल्याउँदै बुद्धका उपदेश अभियान चलाएका थिए । २०५७ सालसम्म देशभर २५० गुम्बा दर्ता भएकोमा उनको कार्यकाल सकिने बेलासम्म ३ हजार गुम्बा दर्ता गरी राज्यको छाताभित्र ल्याउन सफल भएका थिए ।

२०६१ सालमा उनले गुम्बा व्यवस्था विकास समितिको अध्यक्षकै हैसियतमा तत्कालीन राजा ज्ञानेन्द्रलाई अभिषेक आशीर्वाद समेत प्राप्त गरेका थिए । डा.ल्हारक्याल लामा बौद्ध धर्मसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा आबद्ध छन । सन् २०१२ देखि निरन्तर अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन (आईबीसी)को स्थायी कमिटीमा रहेका डा.लामा सन् २०१६ देखि हालसम्म आईबीसीको सचिव निर्वाचित भई कार्यभार सम्हालेका छन ।

प्रकाशित : २५ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६