अन्तर्राष्ट्रिय

नेपाललाई शान्ति क्षेत्र र लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्तिको सहर घोषणा गर्न माग



दाङ २७ असार । नेपाललाई शान्ति क्षेत्र घोषणाको माग गरिएको छ । लुम्बिनी प्रदेशमा क्रियाशील विभिन्न संघसंस्थाको पहलमा आयोजित विश्व शान्ति स् बुद्ध र नेपाल विषयक कार्यक्रममा सहभागीले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव पारित गरेका हुन् ।विपश्यना ध्यान केन्द्र घोराहीका संस्थापक तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले शनिवार यस्तो प्रस्ताव पारित गर्दै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका हुन् ।दाङको देउखुरीमा आयोजित भेलामा विश्वलाई नै शान्ति र अहिंसाको युगिन सन्देश दिने महान् व्यक्ति गौतम बुद्धको जन्मथलोको रूपमा रहेको नेपालीमा नेपालीको शान्तिप्रति अटुट निष्ठा रहँदै आएको स्मरण गराउँदै विश्व समुदायले पनि शान्तिप्रतिको नेपालको सर्वोच्च निष्ठाको सम्मान गरोस् भन्ने तीव्र अभिलाषासहितको प्रस्ताव पेस गरिएको थियो ।

शान्तिप्रति नेपाल राष्ट्र र नेपाली जनताको अभिलाषा परराष्ट्र नीतिमा समेत लामो समयदेखि परिलक्षित भएको हुँदा असंलग्नता, समानता, आपसी सम्मान, कुनै पनि मुलुकको आन्तरिक मामलामा अहस्तक्षेप र पञ्चशील जस्ता शान्तिकामी सिद्धान्त परराष्ट्र नीतिका बलियो जग रहँदै आएका प्रस्तावमा उल्लेख गरिएको छ।नेपाली जनताको शान्तिप्रतिको अटुट निष्ठा, मुलुकको सर्वोच्च र साझा स्वार्थको रक्षा, शान्ति र स्वाभिमानपूर्वक बाँच्नका लागि नेपाली जनताले विगत सात दशकदेखि गर्दै आएको गौरवमय संघर्ष, बदलिँदो विश्व परिवेशलाई समेत दृष्टिगत गर्दै नेपाललाई शान्ति क्षेत्र घोषित गर्नु मुलुक, जनता र विश्व समुदायको समेत सर्वोच्च हितमा हुने हुँदा नेपाललाई शान्ति क्षेत्र घोषित गर्नेतर्फ तत्काल पाइला चाल्न विचार गोष्ठीले अपिल गरेको छ ।सो अवसरमा, लुम्बिनी प्रदेशका सभामुख घर्तीले मुलुकमा शान्ति स्थापना अहिलेको आवश्यकता भएको बताए ।

हरेक नागरिकको मनमा शान्ति कायम गर्न राजनीतिक रूपमा पनि नेपाली समाजको विचार अटाउने समाजवादमा अग्रसर भइरहेको उनले बताए । भौतिकवादले सुख दिए पनि मनको शान्ति नहुँदासम्म मानव विकासको आधार तय नहुने भएकाले लोभ, लालच, ईर्ष्या, गलत विचारबाट मुक्त कसरी बनाउने भन्ने कुराको बोध गर्न बुद्ध दर्शन अध्ययन आवश्यक रहेको उनले बताए ।लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भिक्षु मैत्तेयको मंगलाचरणबाट शुरु भएको कार्यक्रममा वरिष्ठ पत्रकार डा। बालकृष्ण चापागाईले आधार पत्र प्रस्तुत गरेका थिए ।उनले शक्तिको लडाइका कारण विश्व अशान्त रहेको हुँदा यसलाई व्यवस्थापन गर्नु अहिलेको आवश्यकता बताए ।

मानवलाई असल मानव बनाउन बुद्धको ज्ञान अनुसरण गर्नु नै हरेक मानवका लागि अपरिहार्य रहेको बताउँदै उनले बुद्धलाई वृद्ध बनाउने सोच परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता भएको जनाए ।विचार गोष्ठीमा सहभागीहरूले बुद्ध धर्म मानवीय प्रेम र करुणाको धर्म रहेको बताउँदै प्रकृतिका नियमहरूलाई मान्ने हुँदा यो धर्म विज्ञान पनि रहेको जिकिर गरेका थिए । बुद्ध धर्मभित्र सजिलै संसार अटाउने हुँदा अहिले लुम्बिनी क्षेत्रलाई विश्वशान्ति सहर बनाउने र त्यसका लागि एकीकृत लुम्बिनी क्षेत्रीय विकास गुरुयोजना निर्माण गर्ने भन्ने चर्चा चलेकोप्रति ध्यानाकर्षण गराउँदै नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न अभियान सफल बनाउन सबैको साथ र सहकार्य अपरिहार्य रहेको सहभागीको धारणा रहेको थियो ।नेपाललाई शान्ति क्षेत्र घोषण गर्नका लागि विश्वसामु पहल गर्नु आवश्यक रहेको पनि वक्ताहरूको जोड थियो ।

लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भिक्षु मैत्तेयले मौलिकपनको समाजवाद चाहिएको बताए । नेपाललाई शान्ति क्षेत्र र लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्तिको सहरको प्रतीकको रूपमा स्थापित गर्नुपर्ने अभियानमा साझा प्रतिबद्धता कार्यान्वयनमा लाग्नु नै अहिलेको आवश्यकता रहेकोमा उनले जोड दिए ।कार्यक्रममा टिप्पणीकार प्रमोद धिताल, डाक्टर घनश्याम न्यौपाने परिश्रमीले टिप्पणी गरेका थिए भने लिलाधर पन्थी, राजनकुमार न्यौपाने, टीकाराम रेग्मी, ऋषिराज जंगली, नारायण नेपाल, किशोरचन्द्र गौतम, सुशीला आचार्य, कृष्णराज डिसीलगायतले सुझावसहित धारणा राखेका थिए।कार्यक्रम राप्ती गाउँपालिका देउखुरी दाङ, गोर्खा बोर्डिङ स्कुल देउखुरी, गुरुकुल एकेडेमी घोराही र समृद्धि सरोकार केन्द्र नेपाल गरी ४ वटा संस्थाको सहकार्य तथा दाङ विपश्यना ध्यान केन्द्र (धम्मपराग) घोराही, लुम्बिनी वाङ्गमय प्रतिष्ठान नेपाल र नागरिक समाज देउखुरीको संयुक्त आयोजनामा भएको हो ।लुम्बिनी वाङ्गमय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादको स्वागत मन्तव्यबाट शुरु भएको विचार गोष्ठीको सहजीकरण नागरिक समाज देउखुरीका संयोजक निमबहादुर थापाले गरेका थिए ।

प्रकाशित : २७ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६