प्रदेश

बबई नदीमा आएको बाढीमा बगेर ३ जना बेपत्ता



बर्दिया, २८ साउन । बर्दियाको बबई नदीमा आएको बाढीले बगाएर गुलरियाका तीन जना बेपत्ता भएका छन् ।
आज आइतवार बाढीले बगाएर गुलरिया नगरपालिका–१२ भैंसाहीका बालकृष्ण थारु, वडा नम्बर ८ थपुवा गाउँका अक्षय थारु र गुलरियाको पण्डितपुरका महेश चौधरी बेपत्ता भएका बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मलबहादुर बोहोराले जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले खोजी गरिरहेको उहाँले बताउनुभयो ।

अविरल वर्षाका कारण बबई नदीमा पानीको सतह बढ्न थालेको छ । हिजोदेखि लगातार परेको पानीले बबई नदीमा पानीको सतह बढेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा दुई सय २६ दशमलव चार मिलिमिटर वर्षा भएको जनाएको छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा एक सय ७२ दशमलव आठ मिलिमिटर र सानोश्री चेपाङमा एक सय ७४ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

बर्दियामा सडक र सम्म परेका ठाउँहरू जलमग्न भएका छन् । स्थानीय खोलामा आएको बाढीले बारबर्दिया नगरपालिकाको वडा नम्बर ८ का धेरैजसो गाउँहरू डुबानमा परेका छन् । बारबर्दिया–८ का वडाध्यक्ष नरबहादुर चन्दका अनुसार बाढी पसेपछि बिहानैदेखि गाउँ डुबानमा परेको छ । डुबान क्षेत्रका बासिन्दालाई उद्धार गरेर स्थानीय युवक माध्यमिक विद्यालय र जनज्योति विद्यालयमा राखिएको उहाँले बताउनुभयो । अहिले डुबान भएका ठाउँहरूको पानी घट्दो क्रममा रहेको भए पनि पानी लगातार परिरहेकाले सतर्कता अपनाइएको उहाँको भनाइ छ ।

यस्तै कर्णाली र बबई नदीलगायत स्थानीय खोलामा आकस्मिक बाढी आउने भएकाले आसपासका बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।

प्रकाशित : २८ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६