बुटवल २८ साउन । राष्ट्रिय चिकित्सा शिक्षा ऐन र प्राविधिक शिक्षा तथा तालिम परिषद्को पुनः संरचनाको माग गर्दै चिकित्सा शिक्षा व्यवसायी आन्दोलित भएका छन् । ऐनका कारण नेपालमा चिकित्सा शिक्षा पढाउने २ सय २८ शिक्षण संस्था बन्द हुने र करोडौं रकम विदेशिने अवस्था आएको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समिति लुम्बिनी प्रदेश आन्दोलित भएको हो ।संघर्ष समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै समितिले विभिन्न १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको छ । स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरुको भर्ना खोल्नुपर्ने, बन्द भएका नर्सिङ कलेजहरुको तत्काल भर्ना खोल्नुपर्ने, छात्रवृत्तिमा विभेद अन्त्यगरी समानताका आधारमा छात्रवृत्तिको अवसर पाउने ग्यारेन्टी गर्नुपर्ने लगायतका माग समितिको छ ।
यसैगरी नर्सिङ लगायतका पारामेडिकल विषयहरु चिकित्सा शिक्षाबाट अलग गरिनु पर्ने, खुला बजार अर्थनीतिअनुसार मूल्य निर्धारणको व्यवस्था, हरेक तहका लागि अस्पताल चाहिने कार्यविधि खारेज तथा विश्वविद्यालय प्रतिष्ठानहरु, विषयगत काउन्सिलहरु र सीटीईभीटीलाई स्वायत्त बनाउनु पर्ने मागसमेत अगाडि सारेको छ । समिति संयोजक प्रकाश रानाका अनुसार सीटीइभीटी अन्तर्गतका प्रि–डिप्लोमा तहका स्वास्थ्य विषयका १ सय ३७ र स्टाफ नर्स ७३ वटा बन्द भएका छन् । यस्तै विश्वविद्यालय अन्तर्गतका स्नातक तहका बीएन १० र बीएस्सी नर्सिङ ८ वटा शिक्षण संस्था बन्द भएका छन् ।
नेपालमा शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेका छन् । त्यसले लाखौं रकम बाहिरिएको व्यवसायीहरुको दाबी छ ।नेपाल चिकित्सा संघका पूर्वअध्यक्ष मुक्ति श्रेष्ठले ऐनका कारण नेपाल मेडिकलसम्बन्धी अध्यापन गराउने शैक्षिक संस्थाहरु बन्दै हुँदै जाँदा जनशक्ति उत्पादन रोकिएर अभाव सिर्जना हुँदै गएको बताए । गलत शिक्षा ऐनका कारण चिकित्सा शिक्षा धरापमा परेको उनको भनाइ छ ।
प्रतिक्रिया