ब्रेकिंग न्युज

१० घर प्रहरी चौकी र पुल सहित बाढीले बगायो



बेनी २९ साउन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राति १० घरसहित एउटा निर्माणाधीन पक्की पुल बगाएको छ ।गाउँपालिका केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा आइतबार राति ८ बजे कागखोलाबाट आएको बाढीले घर, सार्वजनिक भवन र पुलमा क्षति पुर्‍याएको वारागुङ मक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिए ।उनका अनुसार करिब एकसय घरधुरी रहेको कागबेनीको बीच बस्तीमा कागखोलाको बाढी पसेको छ । आइतबार राति ८ बजे भारी वर्षापछि कागखोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको थियो ।

उनले भने,‘‘१० वटा घर, निर्माणाधीन एउटा पक्की पुल र सडक बगाएको खबर आएको छ । खोला आसपासका धेरै घरहरुमा बाढी पसेको छ ।’’ माथिल्लो मुस्ताङ जाने कागबेनी र छुसाङ जोड्ने निर्माणधिन पक्की पुल बाढीले बगाएको पालिका अध्यक्ष गुरुङले बताए ।अहिले बिहानै बाढीग्रस्त क्षेत्रतर्फ जनप्रतिनिधि सहितको टोली हिडेको पालिका अध्यक्ष गुरुङले बताए । मानविय क्षति भने हुन पाएको छैन । बाढी बस्तीमा पसेपछि आइतबार साँझ स्थानीयवासीहरु भागभाग गरेका थिए । मुक्तिनाथको शीर हुँदै बहने वारागुङ मुक्तिक्षेत्र—२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित धनमाल बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।बस्तीमा बाढी पसेपछि स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको उनले बताए ।

मानविय क्षति नभएपनि बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको उनले बताए । नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरी सहित जनप्रतिनिधिहरु उद्दारमा खटिएका छन् । बाढीले पोल बगाएको हुँदा विद्युत सेवा अवरुद्ध भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध भएको छ । सिँचाईको नहर,गुम्बामा पनि बाढीले क्षति गरेको छ ।कागबेनीको जनशान्ति माविका शिक्षक मनविर किसानले कागबेनीको पुजास्थल,पुल बाढीले बगाएको र विद्यालयको खेलमैदानमा बाढी पसेको जानकारी दिए । बाढी आएपछि छात्राबासका शिक्षक र विद्यार्थीहरु सुरक्षित ठाउँमा गएर बसेको उनले बताए ।प्रहरीका अनुसार कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशाला र केही घरमा क्षति गराएको छ ।

एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको छ ।झोङ भन्ने स्थानमा पहिरो गई कागखोलामा मिसिएपछि बाढी तल कागवेनी बस्ती पसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपिकृष्ण सुवेदीले दिएको जानकारी अनुसार कागबेनी र जोमसोमको सम्पर्क विच्छेद भएको छ ।कागबेनी माथिका शाखा खोलाको बहाव उच्च हुँदा कालिगण्डकी नदीको सतह समेत उच्च भएको बताईएको छ । कागबेनी माथिको शाखा खोला थुनिएको थाहा पाएपछि जोमसोम बजारमा समेत त्रास बढेको छ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६