पोखरा २९ साउन । पोखरामा एकैदिन तीनजना बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिडेका पोखरा महानगरपालिका वडा नम्बर २ बिन्ध्यावासिनी बस्ने ३ जना बालिका हालसम्म पनि सम्पर्क नआएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिन्ध्यावासिनीका १४ वर्षीया मनिका परियार, १३ वर्षीया एलिसा परियार र १४ वर्षीया राधिका परियार एकैपटक सम्पर्क विहिन भएको भन्दै परिवारबाट उजुरी परेको छ ।
बेपत्ता भएकाहरु हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । ‘तीन बालिका बेपत्ता भएको भन्दै परिवारले उजुरी दिनुभएको छ । हामीले खोजी गरिरहेका छौं । हालसम्म पत्ता लागेको छैन’, उनले भने ।
आफन्तले भने दुई बालिकाले फोनमा कुरा भएपनि कहाँ कस्तो अवस्था रहेको जानकारी नभएको बताए । ‘तीनैजना एकैपटक हराएका हुन्, केहीदिन आफन्तकोमा खोज्यौं, नभेटिएपछि प्रहरीमा उजुरी दिएका हौं’, मनिका परियारकी एक आफन्तले भनिन्, ‘दुई जनासँग त कुरा भएको थियो । तर, कहाँ छन् थाहा छैन ।’
परिवारका अनुसार उनीहरु हराउँदा बखत तिनै जना सेतो सट, निलो स्कटको स्कुल ड्रेसमा थिए । परिवारले घरबाट स्कुल जान्छु भनी हिडेका र हालसम्म घरमा फर्की नआएका, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
२९ श्रावण २०८०, सोमबार
प्रतिक्रिया