प्रदेश

एमसीसी प्रसारण लाइनका लागि पाल्पामा जग्गा अधिग्रहण प्रक्रिया सुरु



बुटवल, ३१ साउन । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए–नेपालद्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि पाल्पामा जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।

४०० केभी विद्युत प्रसारण आयोजनाअन्तर्गत बुटवल सबस्टेशनदेखि दमौली सबस्टेशन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले आज सूचना जारी गर्दै अधिग्रहण गरिने जग्गाको विवरण सार्वजनिक गरेको छ । सूचना अनुसार निस्दी गाउँपालिकाका ५, ६ र ७ नम्बर वडा तथा रामपुर नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा पर्ने जग्गा अधिग्रहणमा पर्नेछन् । ती जग्गाहरु आजैदेखि रोक्का भएका छन् ।

सार्वजनिक विवरणमा जग्गा, घरटहरासहित रुखविरुवा समेतको स्वामित्व फरक परेको भए वा छुटेको भए सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दाबी गर्न सकिने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । साथै, जग्गा अधिग्रहण गर्नु नपर्ने भए पनि कारणसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिने छ । तोकिएको म्याद भित्र निवेदन नदिई म्याद गुजारेमा कानुन बमोजिम हुने सूचनामा उल्लेख छ ।

अमेरिकी अनुदान आयोजना अन्तर्गतको एमसीसी सम्झौतामा नेपालले २०७४ सालमा हस्ताक्षर गरेको थियो । अमेरिकी अनुदानलाई सामरिक रणनीतिसँग जोडेर लामो समय विवाद हुँदा २०७८ फागुन १५ गते नेपालको संसद्ले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गरेको थियो । व्याख्यात्मक घोषणाका बुँदामा नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र एमसीए–नेपालले सञ्चालन गर्ने क्रियाकलाप नेपालको कानूनसँग बाझिएमा खारेज गर्ने उल्लेख छ ।

एमसीसीअन्तर्गत ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन, तीनवटा सबस्टेशन तथा पूर्वपश्चिम राजमार्गको ७७ किलोमिटर स्तरोन्नतिका काम हुन्छन् । त्यसका लागि जग्गा प्राप्ति, रूख कटान तथा निर्माण क्षेत्रमा पहुँचका व्यवस्थाहरू सम्बन्धी काम भइरहेका छन् । सन् २०२३ को अगस्टमा एमसीसीका निर्माण काम सुरु गरेर पाँच वर्ष (सन् २०२८ को अगस्ट महिना) भित्र ती सबै सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६