भैरहवा १२ भदौ । नेपाल वायुसेवा निगमले आज मंगलबारबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ । यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।मङ्गलवार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेर मागको आधारमा उडानको संख्या थप्दै लगिने निगमले जनाएको छ ।भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् ।निगमका अनुसार यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइने छ ।
२०७९ जेठ २ गते अन्तर्राष्ट्रिय उडान शुभारम्भ भएपनि यो विमानस्थलबाट निरन्तर उडान नभएको भन्दै निजी क्षेत्रले गुनासो गरिरहेको छ । सुरुमै जजिरा एयरले सातामा तीन उडान थालेपनि नियमित हुन सकेको छैन भने अन्य विमान कम्पनीले पनि सेवा सुरु गरेका छैनन् ।अर्बौँको लगानीमा निर्माण भएको यति ठूलो परियोजना नियमित सञ्चालन नहुँदा सरकारले आलोचना खेपेको छ भने भारतसँग हवाई रुटको व्यवस्थापन नभएका कारण यहाँबाट धेरै अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । प्रधानमन्त्री, विभागीय मन्त्री तथा अन्य नेताहरुले नियमित उडानको पहल गर्ने प्रतिबद्धता जनाएपनि त्यो प्रतिबद्धता कार्यान्वयन हुनसकेको छैन ।
१२ भाद्र २०८०, मंगलबार








प्रतिक्रिया