बुटवल १७ भदौ ।१७ भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरु छलफलमा जुटेका थिए । तर दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको छ ।दुबैले उम्मेदवारी दर्ता गरेका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।
यतानेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन आज सम्पन्न हुने भनिए पनि एक दिन लम्बिएको छ । नेतृत्व चयनका विलम्ब भएका कारण अधिवेशन लम्बिएको हो ।बुटवलमा जारी अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमति सँगसँगै निर्वाचन प्रक्रिया पनि अगाडि लैजाने रणनीति अनुसार उम्मेदवार मनोनयन फारम बुझ्ने काम राति ९ बजेसम्म गर्ने निर्वाचन मण्डलले जनाएको छ । यसअघि साँझ ६ बजेसम्म उम्मेदवार मनोनयन फारम बुझ्ने समय राखिएको थियो । दिउँसो ४ बजेबाट फारम वितरण गरिएको थियो । एमाले पोलिटब्युरो सदस्य तथा अध्यक्ष मण्डलका सदस्य सूर्य थापाले नेतृत्वका लागि सहमतिको प्रयास जारी रहेको भन्दै भोलि बिहान मतदान हुने या नहुने निश्चित भइनसकेको बताए ।उनले भने, ‘भोलि मतदान हुने या नहुने फिप्टी फिप्टी सम्भावना छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन सत्र र आइतबार बिहान बन्द सत्रमा पनि सहमतिबाट नेतृत्व चयन गर्न सुझाव दिएका थिए । त्यसका लागि एमाले सचिव पद्मा अर्याल संयोजक रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो ।निर्वाचन मण्डलले उम्मेदवार मनोनयन फारम वितरण गरे पनि बुझ्ने म्याद ९ बजेसम्म बढाउनुलाई सहमति खोज्ने संकेतका रुपमा लिइएको एक केन्द्रीय सदस्यले बताए ।यहाँ उपाध्यक्ष विष्णु पौडेलको समूहबाट पाल्पाका राधाकृष्ण कँडेल र महासचिव शंकर पोखरेलको समूहबाट प्युठानका हरि रिजाल समूहसहित उम्मेदवारी दर्ता गरेको वताइएपनि दुबै शिर्ष नेताले आफ्नो गुट नरहेको प्रष्टीकरण यस अघि नै दिएका छन् ।
कँडेल एक वर्षअघि गठन भएको प्रदेश कमिटीका अध्यक्ष हुन् भने रिजाल पूर्व प्रदेश मन्त्री एवं पार्टी केन्द्रीय सदस्य हुन् । रिजाललाई पार्टी महासचिव शंकर पोखरेलनिकटका केन्द्रिय नेता बलराम अधिकारी , चेतनारायण आचार्य, भूमिश्वर ढकाल, शिवराज सुवेदी लगायतले अध्यक्षमा अघि सारेका छन् । कँडेलले एक वर्षमात्र तदर्थ समितिमा काम गरेकाले एक कार्यकाल काम गर्न पाउनुपर्ने अडान राखेका छन् ।दुवैले अडान नछाडेपछि निर्वाचनमा जाने करिब निश्चित भए पनि नेताहरू सहमतिका लागि प्रयासमा लागिरहेको अध्यक्ष मण्डलका सदस्य तथा केन्द्रीय कमिटी सदस्य सावित्रा अर्यालले बताइन् । उनले आफूहरू छलफलमै रहेको जानकारी दिइन् ।
एमालेले केन्द्रीय सदस्य भूमिश्वर ढकालले भने छलफल जारी रहेको जानकारी दिँदै नेतृत्व चयनका लागि मतदान गर्ने कि सर्वसम्मत हुन्छ भन्नेमा अझै अन्यौल रहेको बताए ।उनले सदस्यहरू जिल्ला जिल्लाबाट मिले पनि पदाधिकारीमा सहमति जुटाउन समस्या रहेको जानकारी दिए ।एमालेले प्रचार विभाग प्रमुख डीआर घिमिरे मौजुदा समितिको आकार ठुलो रहेका कारण पनि पदाधिकारी तथा सदस्यमा आकांक्षीहरु धेरै रहेको बताए ।खासगरी रुपन्देही र बाँकेमा धेरै नेता भएका कारण सदस्यहरूलाई मिलाउन समस्या रहेको उनको भनाइ छ । यदि सदस्यमा जिल्ला जिल्लाबाट मिल्दै आएको खण्डमा पदाधिकारीमा पनि सहमतिमै मिलाउन दबाब पर्ने उनले बताए ।२०५ सदस्यीय प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६, अपाङ्गबाट एक, मजदुरबाट ३, खुलाबाट पदाधिकारीसहित १५ जना निर्वाचित हुने छन् ।
पदाधिकारी ५ जना हुनेछन् ।अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट एक सय जना बराबर एक जना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन् ।अधिवेशनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।








प्रतिक्रिया