देश

विद्युतीय गाडीको खर्च पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्छः घिसिङ



काठमाण्डौ, २० भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि निजी क्षेत्र आउनुपर्ने बताउनुभएको छ ।

बुधवार नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्तरूपमा उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनका लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रलाई चार्जिङ स्टेशन विस्तारका लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको बताउनुभयो ।

निर्देशक घिसिङले ५१ वटा चार्जिङ स्टेशनको एकसाथ उद्घाटनले देशभर विद्युतीय गाडीको प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो । पछिल्लो समय माइक्रोबस, ट्याक्सी र व्यक्तिगत गाडी गरी धेरै विद्युतीय गाडीको प्रयोगमा वृद्धि भएको उहाँको भनाइ छ । उहाँले चार्जिङ स्टेशनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताउनुभयो । घिसिङले विद्युतीय गाडीको विकाससँगै पेट्रोलियम पदार्थको आयात कम हुने, व्यापार घाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्ने उल्लेख गर्नुभयो ।

घिसिङले विद्युतीय गाडीको खर्च पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो बताउनुभयो । प्राधिकरणले देशभर थप पाँच सय वटा चार्जिङ स्टेशन स्थापना गर्न लागेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विद्युत प्राधिकरणले ५१ वटा चार्जिङ स्टेशन उद्घाटन गरेको छ । यसले देशभर विद्युतीय गाडीको प्रमोसन हुने छ । चार्जिङ स्टेशनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिनेछ । बिजुली गाडीको खर्च पेट्रोलियम पदार्थबाट चल्ने गाडीभन्दा झन्डै १५ देखि २० गुणा सस्तो पर्छ । अप्रेसन कस्ट शून्य छ भने छ हजार रुपैयाँको डिजलरपेट्रोल लाग्ने ठाउँमा चार सय रुपैयाँले पुग्ने अवस्था आउँछ । विद्युतीय गाडीको प्रयोग बढ्दा नेपालको बिजुलीमा नेपालमा नै खपत हुन्छ ।’

कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले नेपालमा नै विद्युतीय गाडीको प्रवर्धन गरी विद्युतीय पूर्वाधार तयार गर्नसके नेपालमा उत्पादन भएको जलविद्युत देशभित्रै खपत हुने बताउनुभयो । उपाध्यक्ष सिटौलाले विद्युतीय गाडीलाई सरकारले प्रोत्साहन गरी पूर्वाधार तयार गरे देशमा उत्पादित विद्युतलाई विदेश निर्यात गर्न नपर्ने बताउनुभयो । विद्युतीय गाडीको विकास र विस्तारका लागि विद्युतीय चार्जिङ स्टेशन देशभर ५१ वटा मात्रै नभएर ५१ हजार वटा हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित : २० भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६