खोज–अनुसन्धान

खुकुरी प्रहार गरेका श्याम वहादुरको बयान -यादवलाई मार्न चाहान्थें




कपिलवस्तु २० भदौ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार गर्नेले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको खुलेको छ। घाँटी र टाउकोमा गहिरो चोट लागेको नेता यादव घाइते भएका छन्।भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो। यादवलाई खुकुरी प्रहार गर्ने नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटा हुन्।उनलाई प्रत्यक्षदर्शीले तत्कालै नियन्त्रण लिए। उनले दुईपटक खुकुरी प्रहार गरे। पहिलो प्रहार टाउको र अर्को प्रहार घाँटीमा लाग्यो। पहिलो प्रहारलगतै उनलाई नियन्त्रणमा लिन लागिए पनि दोस्रो प्रहारपछि मात्र प्रत्यक्षदर्शीले समात्न सफल भए।नियन्त्रणमा लिएपछि खुकुरी हान्ने श्यामबहादुरले भने ‘‘च्वाट्टै छिन्नुपर्ने थियो त्यो। अझ छिनेन मात्र। सानो भयो सामान (खुकुरी)।’’
प्रहरी स्रोतले भन्यो, ‘‘ज्यान मार्ने उद्देश्यसहित आएका रहेछन्। नियन्त्रणमा परेपछि पनि आक्रोश ओकल्दै थिए। प्रत्यक्षदर्शीले समयमै नियन्त्रणमा लिन सफल भए। थप अर्कोपटक पनि खुकुरी हानेको भए ज्यान तलमाथि पर्ने खतरा थियो।’’खुकुरी प्रहारबाट घाइते भएलगत्तै यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ। जहाँ उनको उपचार भइरहेको छ। नियन्त्रणमा परेपछि श्यामबहादुरले राजसंस्था समर्थनदेखि एमसीसीको विरोधमा नारा लगाए। उनले भने,‘‘लेले जनता खुकुरी ले देशद्रोहीलाई छप्काइदे। एमसीसी खारेज गर। हिन्दूराष्ट्र कायम गर। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ।’’

श्यामबहादुरले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए। कार्यक्रममा भादगाउँले टोपी लगाएर आएका उनी लहरमा महेन्द्र यादवको भाषण सुन्दै गरेका थिए। कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै गए। पछाडिबाट खुकुरी हाने।अहिलेसम्मको सोधपुछको क्रममा श्यामबहादुरले कार्यक्रम हलमा भाषण गर्दैगर्दा खुकुरी हान्ने योजना बनाएर आएका थिए। तर, त्यहाँ खुकुरी झिकेर हान्न लाग्दा यादव पछि हट्नसक्ने र अरूले आफूलाई नियन्त्रणमा लिन सक्ने हुँदा कार्यक्रम सकिएपछि हानेको उनले बताएका छन्। सोही कारण उनी कार्यक्रमको सुरुमै गएर अगाडीकै रोमा गएर बसेका थिए। उनले झोलामा खुकुरी राखेका थिए।पक्राउ परेका सापकोटाले आफूलाई अभियन्ता बताएका छन्। तर कसैले उनलाई आक्रमण गर्न पठाएको हुनसक्ने प्रहरीको आशङ्का छ।
रिपोर्टर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणबारे धारणा राखेका थिए।सहमहामन्त्री यादवले आक्रमणअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालतले आज–भोलिमा नै रिहा गर्ने आदेश दिने दाबी गरेका थिए। ‘‘आज भोलिमा अदालतले उहाँलाई न्याय दिन्छ। धेरै मान्छेसँग कुरा भएको छ। सबले भनेको बालकृष्ण खाँण निर्दोष छ’’ उनले भनेका थिए।खाँणको खातामा अस्वाभाविक तरिकाको रकम नदेखिएको उनले दाबी थियो। उनले भनेका थिए ‘‘उहाँको पालामा नक्कली वा सक्कली एक जना पनि नेपाली वा भुटानी अमेरिका गएका छैनन्। जसले हस्ताक्षर ग¥यो, त्यो बाहिर छ । जसको हस्ताक्षर नै छैन त्यो भित्र छ ।’’

प्रकाशित : २० भाद्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६