अन्तर्राष्ट्रिय

नेपाली अटो बजारमा चिनिया राज चल्दै : भारत कोरीया र जापान निरिह बन्दै




कपिलवस्तु १ असोज । कुनै समय यस्तो थियो‚ बलियो र राम्रो गाडीका लागि नेपालीहरु जापानी र युरोपेली ब्रान्ड रोज्थे। अटोमोबाइल बजारमा महँगा‚ पावरफुल र राम्रो डिजाइनका गाडी नै जापानी र युरोपेली कम्पनीका हुन्थे।तर जापानी र युरोपेली गाडी महँगा। जसका कारण बिस्तारै भारतीय गाडीले नेपालको बजार लिन थाल्यो। मारुती सुजुकीका गाडीले बजार लिड गर्न थाल्यो। मारुती ८०० ले केही समय एकछत्र राज गर्‍यो। त्यसको केही समयमै कोरियाली ब्राण्ड हुण्डाइको दबदबा सुरु भयो।मारुती सुजुकी ८०० लाई टक्कर दिन आइपुग्यो हुन्डाइ स्यान्ट्रो। हुण्डाइ स्यान्ट्रोसँगै आई(१० र क्रेटाले बजार कब्जा गरे। क्रेटासँगै कम्प्याक्ट एसयुभीमा मारुतीको ब्रेजाले राम्रो बजार हिस्सा ओगट्यो। अहिले नेपाली बजारको दृश्य फेरिएको छ। एकसेएक चिनियाँ ब्रान्डले पुराना प्रभावशाली गाडीको बजारलाई राम्रै धक्का दिएका छन्।
नेपाली अटो बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम बढिरहेको छ। कोरोनापछिको अवधिमा चीनका प्रख्यात धेरै अटोमोबाइल ब्रान्ड नेपाल प्रवेश गरे।अहिले नेपाली अटो बजारमा दर्जनौं चिनियाँ ब्रान्डका सवारी बिक्री भइरहेका छन्। जसमा बीवाइडी, एमजी, सेरेस, नेटा भी, ग्रेटवाल, चांगन र फोटोनको युग सुरु भएको छ।राजधानीको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको सवारी मेला नाडा अटो शोले बजारको फेरिएको ‘ब्रान्ड डोमिनेसन’ प्रष्ट पारेको छ। मेलामा चिनियाँ ब्रान्डको धेरै उपस्थितिले अन्य ब्रान्डलाई चिनियाँ अटो उत्पादकले कसरी डोमिनेट गर्दै छन् भन्ने कुरा स्पष्ट हुन्छ।
मित्सुबिसी, माज्दा, सुबरु र होन्डाको बजार विस्तारै सिफ्ट हुने समेत देखिएको छ। सुबरु त नेपाली बजारबाट बिस्तारै फेज आउट हुँदै गएको छ। टोयोटा र मित्सुबिसीले भने अझै प्रतिस्पर्धी गरिरहेका छन्। युरोपियन ब्राण्ड फक्सवागन, स्कोडा, प्यूजोलगायत ब्राण्ड भने बजार जोगाउन संघर्षरत छन्।

चिनियाँ ब्राण्डमा ठूला व्यावसायिक घराना
डेढ दशकअघि एक दर्जनकै हाराहारीमा नेपाल भित्रिएर गुमनाम बनेका चिनियाँ ब्रान्ड अहिले जुन रफ्तारमा पुनः नेपाल प्रवेश गरिरहेका छन्, यसले हाल विद्यमान सवारी बजारमा फेरबदल ल्याउने पक्कापक्की देखाएको छ।दशकौंदेखि युरोपेली, जापानी, अमेरिकी, फ्रेन्च र कोरियन ब्रान्डको दबदबा रहेको नेपाली अटोबजारमा चिनियाँ ब्रान्डको बर्चश्व बढ्दै जाने र यसले स्थापित मानिएका पुराना ब्रान्डको बजार हिस्सा गुम्ने देखिएको छ।विश्व बजारमै प्रभाव बिस्तार गरिरहेका चिनियाँ ब्रान्डलाई नजिकको छिमेकी मुलुक भएको नाताले पनि नेपालमा बजार बढाउन सजिलो हुनेछ। नेपालका ठूला अटो व्यवसायीले धमाधम चिनियाँ ब्रान्डलाई नेपाल भित्र्याइरहेका छन्।चिनियाँ ब्रान्डका गाडी ल्याउनेहरु लामो समयदेखि अमेरिकी, जापानी र युरोपियन गाडी बिक्री गर्दै आएका व्यावसायिक घराना हुन्।नेटा भी सीजी ग्रुपले भित्र्याएको छ। यस्तै एमजी र ग्रेटवाल विशाल ग्रुपले नेपाली बजारमा भित्र्याएको हो। साथै सेरेस, फोटोन र चांगन एमएडब्लु ग्रुपले तथा बीवाइडी साइमेक्स इंकले नेपाल भित्र्याएको हो।
डिजाइन र प्रविधिमा जोड
पछिल्लो समय चीन विश्वकै सबैभन्दा ठूलो अटो उत्पादक र बढी सवारीसाधन खपत गर्ने मुलुक बन्दै गएको छ। चीनमा प्रायः सबैजसो युरोपेली, अमेरिकी, जापानी र कोरियाली ब्रान्डका सवारीसाधन उत्पादन हुन्छन्। पछिल्लो समय चीन अटो उत्पादन र बिक्रीको हब नै बन्दै गएको छ।एक दशकअघिसम्म चिनियाँ बजार विदेशी ब्रान्डका सवारीसाधनको कब्जामा थियो। विदेशी कम्पनीलाई प्लान्ट राख्‍न दिएर अनुभव बटुलेपछि भने चीन आफ्नै ब्राण्डका प्लान्ट निर्माण गरी उत्पादन र बिक्री वितरणमा एग्रेसिभ भएको छ।चीनले निजी क्षेत्रको सहकार्यमा रिसर्च एण्ड डेभलपमेन्टमा रकम खर्चियो। परिणामस्वरुप अहिले चीनले आफ्नै ब्रान्डमा अत्याधुनिक र सुविधासम्पन्न सवारीसाधन उत्पादन गरेर विश्‍व बजारमा चुनौती दिने सामर्थ्य बनाएको छ।
चीनमा उत्पादन भएको बीवाइडी गाडी विश्‍वमा सबैभन्दा धेरै बिक्री भएको छ। कम्पनीले विश्‍व बजारमा गत वर्ष मात्रै १८ लाख गाडी बिक्री गरेको थियो। जुन टेस्लाको भन्दा ५ लाख धेरै हो। विदेशी ब्रान्डको बर्चश्‍वलाई कम गर्दै आफ्नै ब्रान्ड प्रवर्धनमा चीन तल्लिन छ। अहिले चिनियाँ सडकमा स्वदेशी ब्राण्ड बढी देखिन थालेको छ।डिजाइनमा केन्द्रित देखिएको चीनले नयाँ प्रविधिमा सवारीसाधन उत्पादनका लागि अध्ययन थालिसकेको छ। सवारी उत्पादनमा आफ्नो दबदबा कायम राख्‍ने उसको रणनीति छ। विद्युतीय गाडीमा शक्तिशाली मुलुकलाई पछि पारेको चीन ब्याट्रीको खोज र अनुसन्धानमा जुटेको छ। त्यसैले चीनले केही वर्ष विश्वको अटोबजारमा राज गर्ने अनुमान गरिएको छ।

प्रकाशित : २ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६