देश

उच्च शिक्षाको गन्तव्य बन्दै कपिलवस्तु, विद्यार्थी पलायन घट्ने अपेक्षा



जिल्लाका आठ क्याम्पसमा स्नातक देखि स्नातकोत्तर तहसम्मका नयाँ शैक्षिक कार्यक्रम विस्तार

कपिलवस्तु २३ कात्तिक


कपिलवस्तुको शैक्षिक क्षेत्रमा पछिल्लो समय उच्च शिक्षाका नयाँ अवसर विस्तार हुँदै गएका छन्। जिल्लाका विभिन्न क्याम्पसले स्नातक तथा स्नातकोत्तर तहका विविध विषयमा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै जिल्ला भित्रै उच्च शिक्षा अध्ययन गर्ने अवसर थपिएको छ। यसलाई जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
उच्च शिक्षा अध्ययनका लागि बर्सेनि ठूलो संख्यामा विद्यार्थी जिल्ला बाहिर जानुपर्ने अवस्थालाई न्यूनीकरण गर्न स्थानीय शैक्षिक संस्थामा विषयगत विविधता र शैक्षिक कार्यक्रम विस्तार हुनु सकारात्मक कदम हो। जिल्लामै व्यवस्थापन, सूचना प्रविधि, होटल व्यवस्थापन तथा शिक्षा संकायका विभिन्न विषय अध्ययन गर्न पाउने अवसर बढ्दै जाँदा विद्यार्थी र अभिभावकलाई सहज हुने अपेक्षा गरिएको छ।
हाल कपिलवस्तुका आठवटा क्याम्पसले त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्राप्त गरेका छन्। लुम्बिनी भिजन कलेजले बीआईटीएम र बीएचएम, सिद्धार्थ क्याम्पसले बीबीए र बीसीए, कपिलवस्तु बहुमुखी क्याम्पसले बीबीए तथा फलारी बाबा क्याम्पसले बीबीएस कार्यक्रमका लागि सम्बन्धन पाएका छन्।
त्यस्तै, बुद्धभूमि क्याम्पसले बीआईटीएम, शायपत्री क्याम्पसले बीबीए, समयथान बहुमुखी क्याम्पसले एमबीएस र बीएड (नेपाली) तथा नेपाल आदर्श बहुमुखी क्याम्पसले एमएड (स्वास्थ्य शिक्षा) र एमएड (नेपाली) कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्राप्त गरेका छन्।
यी कार्यक्रमको विस्तारले जिल्लामा उच्च शिक्षाको पहुँच मात्र बढाएको छैन, विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र भविष्यको रोजगारीसँग सम्बन्धित विषय छनोट गर्ने अवसर समेत प्रदान गरेको लुम्बिनी भिजनका क्याम्पस प्रमुख सुन्दर पाण्डेको भनाई रहेको छ। विशेषगरी स्नातक तहमा व्यवस्थापन, कम्प्युटर एप्लिकेसन, सूचना प्रविधि र होटल व्यवस्थापन जस्ता विषय थपिनु तथा स्नातकोत्तर तहमा पनि अध्ययनका अवसर विस्तार हुनुले जिल्लाको शैक्षिक दायरालाई फराकिलो बनाएको छ।
यसले विद्यार्थीको जिल्ला बाहिरिने प्रवृत्ति कम गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ। स्थानीय स्तरमै अध्ययनको अवसर उपलब्ध हुँदा विद्यार्थीको समय र खर्च बचत हुनुका साथै स्थानीय शैक्षिक संस्थाको संस्थागत क्षमता विकास, शैक्षिक जनशक्तिको उपयोग र जिल्लाको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्न सक्छ।
यद्यपि, विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्नु मात्र गुणस्तरीय शिक्षाको सुनिश्चितता नभई सम्बन्धित कार्यक्रम नियमित र प्रभावकारी रूपमा सञ्चालन हुनु, दक्ष प्राध्यापकको व्यवस्था, आवश्यक भौतिक तथा प्राविधिक पूर्वाधार, प्रयोगात्मक शिक्षण, अनुसन्धान र विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माण हुनु उत्तिकै आवश्यक रहेको लुम्बिनी भिजनका अध्यक्ष सरोज खनालको भनाई रहेको छ। अध्यक्ष खनालले विद्यार्थीले प्रमाणपत्र मात्र नभई ज्ञान, सीप र प्रतिस्पर्धी क्षमता हासिल गर्न सक्ने अवस्था सिर्जना गर्नु आजको मुख्य चुनौती रहेको बताउनु भयो ।
क्याम्पस सञ्चालक, विश्वविद्यालय, स्थानीय सरकार, अभिभावक र सरोकारवाला निकायबीच सहकार्य हुन सके कपिलवस्तुलाई उच्च शिक्षाको सम्भावनायुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने सिद्धार्थ क्याम्पसका ब्यवस्थापन समिति अध्यक्ष डम्मर शर्माको भनाई रहेको छ। नयाँ शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनसँगै शिक्षाको गुणस्तर र विश्वसनीयता कायम गर्न सके जिल्लाका विद्यार्थीलाई आफ्नै ठाउँमा भविष्य निर्माण गर्ने आधार तयार हुने अध्यक्ष शर्माले विश्वास ब्यक्त गर्नु भयो ।
समग्रमा, कपिलवस्तुमा उच्च शिक्षाका अवसर विस्तार हुनु एउटा संस्थाको मात्र उपलब्धि नभई जिल्लाको शैक्षिक भविष्यसँग जोडिएको विषय भएको र यसले विद्यार्थी पलायन न्यूनीकरण, स्थानीय शैक्षिक संस्थाको सुदृढीकरण र जिल्लाको समग्र शैक्षिक उन्नतिमा योगदान पु¥याउने अपेक्षा गर्न सकिने अध्यक्ष शर्माले बताउनु भयो ।

प्रकाशित : २३ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६