अर्थ-वाणिज्य

माओवादी केन्द्रको नाम परिवर्तन हुने : के होला नयाँ नाम ?



काठमाडौँ, २ असोज ।नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० ले आगामी महाधिवेशनसम्म पार्टीको नाम परिवर्तन गर्ने तयारी गरेको छ। माओवादीले अन्य कम्युनिस्ट घटकसँग पार्टी एकता गर्न वार्ता, संवाद र छलफल जारी राखेकाले पार्टीको नाम फेर्न लागेको हो। गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले चारबुँदे आन्तरिक परिपत्र जारी गर्दै पार्टीको नाम फेर्ने गरी निर्णय गर्ने उल्लेख छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित परिपत्रमा कोष्ठकमा रहेको ‘माओवादी केन्द्र’ को नामबारे आवश्यक निर्णय लिन सकिने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० र अन्य कम्युनिस्ट घटकसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठकमा रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ।” पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रले अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न छलफल अघि बढाएकाले त्यस अवस्थामा पार्टीको नाम फेर्न सकिने बताए। उनले भने, “अहिलेकै अवस्थामा माओवादी केन्द्रको नाम फेरिँदैन । अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न छलफल जारी भएकाले त्यस अवस्थामा पार्टीको नाम फेरिन सक्छ । त्यो पनि पार्टी महाधिवेशनपछि मात्रै नाम फेरिने हो ।”
माओवादीले धेरै पटक पार्टीको नाम फेरिसकेको छ। तत्कालीन मोहनविक्रम सिंहसँग पार्टी विभाजन गरेपछि पार्टीको नाम नेकपा मशाल राखिएको थियो। त्यतिबेला नेतृत्वमा मोहन वैद्य ‘किरण’ थिए। पार्टी नेतृत्वमा प्रचण्ड आएपछि नेकपा एकता केन्द्र, नेकपा माओवादी हुँदै एकीकृत नेकपा माओवादी, माओवादी केन्द्र पार्टीको नाम बनाइएको थियो।
तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको थियो। सर्वोच्च अदालतबाट नेकपा विभाजन भएपछि माओवादी केन्द्र पुनर्गठन गरिएको थियो। हाल माओवादी केन्द्रको नाम महाधिवेशनमा फेर्ने गरी छलफलमा ल्याएको छ।
माओवादीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपत्यकाभित्रै तीनमहिने अभियानमा खटाउन निर्देशन दिएको छ। संसद् बैठक र विषयगत समितिका बैठक प्रभावित नहुने गरी पार्टी अभियानमा खटाउने भएको छ। उनीहरूलाई पार्टीमातहतका कमिटीले निर्णय गरेर आवश्यकता अनुरूप परिचालन गर्ने भएका छन्।
माओवादी सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई सांस्कृतिकजन्य कमजोरी गरेपछि पार्टीबाट छ महिना निलम्बन गरिएको छ। प्रदेशबाट चौधरीलाई निलम्बन गर्न सिफारिस भएपछि पदाधिकारी बैठकले अनुमोदन गरेको हो। उहाँले पार्टी नेताहरूसँग छलफल गर्दा सांस्कृतिकजन्य कमजोरी स्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ।
बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माको सिफारिसमा केन्द्रीय सदस्य कमला दोङलाई भक्तपुर कार्यक्षेत्र तोकिएको छ। यस्तै केन्द्रीय सदस्य जगप्रसाद शर्मा, नारायण अधिकारीलाई लुम्बिनी प्रदेश अनुगमन र स्कुल विभाग जिम्मेवारी दिएको छ।

प्रकाशित : २ आश्विन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६