खोज–अनुसन्धान

सामाजिक संजालले श्रृजना गरेको नेपालगंजमा तनावको वास्तविकता केहो ?



वाँके १७ असोज । तीन दिनअघि सामाजिक सन्जालमा लेखेको विषयमा असन्तुष्टि बढ्दै गएपछि पश्चिम नेपालको बाँकेको नेपालगन्जमा हिन्दू(मुस्लिम समुदायबीच तनाव बढ्दै गएको छ ।नेपालगन्जका एक व्यक्तिले सामाजिक सन्जाल फेसबुक स्टाटसमा लेखिएको कमेन्टले दुई समुदायबीचको द्वन्द्व बढाएको हो । बढ्दो द्वन्द्व रोक्न कर्फ्यु लगाएर पनि नभएर नेपाली सेनालाई समेत प्रयोग गरेको छ । फेसबुकको दुरुपयोग गर्दै एकजना सामान्य नागरिकले लेखेको स्टाटसको कमेन्टले नेपालगन्ज अशान्त बनेपछि चाडपर्वको मुखैमा आएको रौनकता कम भएको छ ।शान्ति सद्भावका लागि उद्योग वाणिज्य संघ, सबै राजनीतिक दलले आग्रह गरेका छन् । तर दुवै तर्फका धार्मिक अतिवादीहरुले उचालेका कारण विषय जटिल बनेको प्रहरी तथा स्थानीय बुद्धिजीविको भनाइ छ ।
सद्भावमा र्‍यालीमा हिँडेकाहरु दुवै पक्षका शान्त छन् तर भीडलाई कसले उचालेको छ भन्ने कसैलाई जानकारी छैन र नियन्त्रणमा पनि छैनन् । मंगलबार एक्कासी कफर्यू लागेकाले विद्यालय गएका बालबालिका, काममा गएका व्यक्तिहरु घर फर्कन समस्या परेको थियो । प्रशासनले मुख्य बजारमा बढी कडाई गरेपनि प्रदर्शन र झडपहरु भइरहेका थिए । अपरान्ह सेना सडकमा आएपछि मात्रै केही शान्त भएको थियो ।स्थानीय प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि लागूहुनेगरी कर्फ्यु आदेश जारी गरेपनि प्रशासनको आदेश उल्लंघन गर्दै प्रदर्शन गर्ने र प्रहरीको आँखा छल्दै दुवै पक्षबीच ढुँगामुढा गर्ने क्रम दिनभर जारी रह्यो । यही अवस्थामा प्रशासनले सेनाको समेत सहयोग मागेपछि मध्यान्न सडकमा आएको हो ।

प्रशासनले दिउँसोको तुलनामा अवस्था नियन्त्रणमा आइसकेको दाबी गरेपनि दुवै पक्षले वार्तालाई गरेको अस्वीकारले अवस्था तत्काल साम्य हुने देखिँदैन ।प्रशासनले सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार लगायतका गतिविधि भएकाले सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिम एव शान्ति भंग हुने स्थिति देखिएकाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । उनले यस्तो अवस्थामा पनि केही झडप भइरहेकाले सेनाको सहयोग लिइएको बताए ।जिल्लाको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यू आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।
चार किल्ला सीमाभित्र कसैले भेला हुन सभा समारोह गर्न, जुलुश र्‍याली गर्न र हिँडडुल गर्न समेत नपाइने गरी निषेधाज्ञा जारी भएको प्रजिअ आचार्यले जानकारी दिए । ओमकार परिवार र हिन्दु समाजले लगायतका संघ, संस्थाले मंगलबार नै नेपालगञ्जमा सदभाव र्‍याली निकालेका थिए । सो आदेशको उल्लंघन भए कानूनअनुसार कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउनेजस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।
११ असोजमा सामान्य व्यक्तिबाट पोष्ट गरिएको स्टाटसमाथिको कमेन्टले १६ गतेसम्म पुग्दा नेपालगन्जमा दुई समुदायबीच सौहार्दपूर्ण वातावरण खलबल्याउने प्रयास भएको छ । मुस्लिम समुदायका पैगम्बरको १४९८ औं जन्मोत्सवका क्रममा मोहम्मद डे मनाइरहेको अवस्थामा बाँकेका एक मौर्य थरका स्थानीय युवाले पोष्ट गरिएको स्टाटसमा कमेन्ट लेख्दै बाँके नरैनापुरका यादव थरका युवाले अपमानजनक शब्दसहित कमेन्ट गरेका थिए । ती युवाले कमेन्टमा इस्लाम धर्मका पैगम्बर मोहम्मदको निन्दा गर्दैै सामाजिक सञ्जालमा अपमानजनक कमेन्ट लेखेका थिए । त्यही कमेन्टको शब्दले नेपालगन्जमा अशान्ति मच्चाएको बुझाइ छ ।
कमेन्टमा अपमानका शब्दहरु देखेपछि मुस्लिम युवाहरुलाई उचाल्ने काम भने नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ का वडाध्यक्ष सराफत खानले गरेको प्रहरी स्रोतको दाबी छ ।

खानको सक्रियतामा अपमानजनक स्टाटसविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र दिन जाने क्रममा गरिएको उग्र प्रदर्शनले लामो समयदेखि नेपालगन्जमा शान्ति र सहिष्णुता खलबल्याउने समूह पनि सक्रिय भएको हुनसक्ने प्रहरीको बुझाइ छ ।प्रशासनमा साइबर क्राइम अन्तर्गत कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाउने भनिए पनि सयौं आक्रोशित युवाहरु लिएर प्रशासनमा जुलुस पुग्यो । जुलुसले प्रशासन नै कब्जा गरेको आभास दिनेगरी प्रशासनको छतमा मुस्लिम झण्डा फहराए र सडकमा उग्र नारा लगाए । प्रशासनबाट फर्केको सराफतले नेतृत्व गरेको युवाहरुले प्रदर्शनका क्रममा टायर बाल्ने, अर्को समुदायविरुद्ध उग्र नाराबाजी गर्ने काम गर्यो ।
निर्वाचित वडाध्यक्ष खानकै नेतृत्वमा उग्रप्रदर्शन भएको निहुमा उता हिन्दु धर्मसँग जोडिएका विभिन्न समूहले पनि नेपालगन्जमा प्रदर्शनको योजना बनायो । सो समूहलाई प्रशासनले उत्तेजना फैलाउने काममा संलग्नहरुलाई कारबाही गर्ने आश्वस्त तुल्याएको भए सायद कर्फ्युको अवस्था नआउने स्थानीयको भनाइ छ । प्रशासनले समयमै सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कारबाही गर्नुको सट्टा कारबाही गर्ने वक्तब्य जारी गरेको स्थानीयको गुनासो छ ।सामाजिक सन्जालमा कमेन्ट लेख्ने ती व्यक्तिले फेसबुककै माध्यमबाट सार्वजनिक माफी मागेर क्षमायाचना गरिसके पनि यो विषय उचालेर हिंसा बढाउनेहरुले यसलाई मसला बनाइरहेको अग्रज पत्रकार शरण कर्माचार्य बताउँछन् । उनले नेपालका मात्र नभएर भारतकासमेत धार्मिक अतिवादीको योजनामा शान्त रहेको नेपालगन्जमा तनाव भएको दाबी गरे ।
१२ गतेकै प्रदर्शनका विरुद्ध ओमकार परिवारले मंगलबार नेपालगञ्ज बन्द आव्हान गरेको थियो । ‘शान्तिपूर्ण’ र्‍याली निकाल्ने भन्दै प्रशासनबाट अनुमति लिएपनि भित्रभित्रै कडा आन्दोलनको तयारीको विषयमा प्रशासन जानकार थियो । नगरको शान्ति सुरक्षा खल्बलिने विश्लेषणसहित स्थानीय प्रशासनले १५ असोजमा सर्वपक्षीय बैठक बोलाएको थियो । सद्भाव र्‍यालीमा स्थानीयको आकर्षण नदेखिएपनि ओमकार समूहको प्रदर्शनमा उल्लेख्य युवाहरु सहभागी भए ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६