जनकपुरधाम १८ असोज । उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए ।असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो । मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेको थियो ।
बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइएको थियो । श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको डीएसपी अवाको भनाइ छ । ’म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ’, श्रीनिवासको वयान उधृत गर्दै डीएसपी अवाले भने ।
प्रतिक्रिया