ब्रेकिंग न्युज

बैकले दिएको मास्टर कार्ड प्रयोग गरेर एसबीआई बैंकको डेढ करोड रुपैयाँ ठगी




काठमाडौं १३ कार्तिक । काठमाडौं नयाँ बजारका ३८ वर्षीय किसनराज सिंहले १५ दिनभित्र नेपाल एसबीआई बैंकको डेढ करोड रुपैयाँ गायब बनाएको खुलेको छ।सिंहले अन्य व्यक्तिको खाताबाट नेपाल एसबीआई बैंकको पोस ९पोइन्ट अफ सेल्स० मेसिनमा माष्टर कार्ड र भिसा कार्ड प्रयोग गरेर रकम झिकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट देखिएको हो। मास्टर कार्डमा ७० र भिसा कार्डमा २४ पटक चार्ज ब्याक भएको अनुसन्धानबाट देखिएको छ।सिंहले ड्रागन इन्भेस्टमेन्ट कम्पनीको नाममा पोस मेसिन प्रयोग गर्दै आएका थिए। नयाँ बजारमा थान्का र मूर्तिको कारोबार गर्ने उनले एसबीआई बैंकको ठमेल शाखाबाट २०७९ मंसिर २६ गते पोस मेसिन लिएका थिए। उनको कारोबारमा विवाद देखिएपछि बैंकले एक महिनामै अर्थात २०७९ पुस २० गते खाता ब्लक गरेको थियो।
सिंहले विदेशी नागरिकको विवरण राखेर १ करोड ५८ लाख ८१ हजार ६ सय ३६ रुपैयाँ जम्मा गरेका थिए। त्यसमध्ये कम्पनीको खाताबाट १ करोड ५१ लाख ९ हजार रुपैयाँ झिकिसकेका थिए। बाँकी रकम भने बैंकले उनीबाटै असुल उपर गरेको थियो।तर उनले यसरी पोस मेसिनबाट सामान बिक्री गरेर जम्मा गरेको भनिएको रकम विवाद भएपछि युरोपको बैंकबाट नोष्ट्रो एकाउन्टमा जम्मा हुन्छ। वाणिज्य बैंकहरुले विदेशी मुद्राको कारोबार गर्नका लागि विभिन्‍न देशमा नोस्ट्रो एकाउन्ट खोलेका हुन्छन्।
त्यसपछि त्यहाँको रकम एसबीआई बैंकमा आउँछ। बैंकमा आएपछि रकम सिंहले झिके। तर खाताको रकम क्लेम आएपछि एसबीआई बैंकबाट नोस्ट्रो खाता खोलेको स्ट्यान्डर्ड चार्टर्डले फिर्ता लियो। तर एसबीआई बैंकले सिंहको खातामा पर्याप्‍त रकम नभएकाले फिर्ता पाएन। यसरी डुबेपछि बैंककी ठमेल शाखा प्रमुख सुनीता गिरीले प्रहरीमा जाहेरी दिइन्।त्यसअघि बैंकले सिंहलाई बोलाएर कारोबारको कागजपत्र र डुबेको रकम ३० दिनभित्र फिर्ता दिन आग्रह गरेको थियो। बैंकले दिएको समयभित्र रकम नतिरेपछि बैंक प्रहरीकहाँ पुग्‍न बाध्य भएको थियो।प्रहरीले अनुसन्धान सकाएर बैंकिङ कसुरमा मुद्दा दायर गरेकामा उच्च अदालत पाटनले सिंहसँग २ करोड ७३ लाख रुपैयाँ धरौटी मागेको छ।
किसनराजले कसरी बैंकलाई नै ठगे?
प्रहरीको अनुसन्धानमा सिंहले ठगी गर्ने उद्देश्यले नै बैंकबाट पोस मेसिन लिएको देखिन्छ। उनले कारोबार सुरु गरेको १५ दिनभित्र नै मेसिनबाट डेढ करोडको कारोबार गरेका छन्।बैंकको ठमेल शाखामा रहेको कम्पनीको खाताको १ करोड ५८ लाख ८१ हजार ६ सय रुपैयाँमध्ये १ करोड ४४ लाख ५५ हजार ४ सय रुपैयाँ सिंहले पुस १० देखि २५ गतेसम्म झिके। १५ दिनमा उनले १ सय ५० पटक कारोबार गरेका थिए।एसबीआई बैंकले विदेशमा कारोबार गर्न अमेरिकाको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा नोस्ट्रो एकाउन्ट खोलेको थियो। पोस मेसिनमा भिसा र मास्टर कार्डबाट रकम भुक्तानी गर्नका लागि भौतिकरुपमा कार्ड नभए पनि हुन्छ।अर्थात कारोबारका लागि कार्ड नम्बर, कार्डको म्याद सकिने मिति भए मात्र पनि भुक्तानी दिन सकिन्छ। प्रहरीको अनुसन्धानमा सिंहले पनि कार्डबिना नै भुक्तानी गरेको देखिन्छ।
उनको कारोबारमा विदेशी नागरिकको खाता प्रयोग भएको देखिएको छ। तर उनले विदेशी नागरिकको कार्ड नम्बर वा म्याद सकिने मिति कसरी प्राप्त गरे भन्ने खुल्दैन। विदेशी नागरिकसँगको मिलेमतोमा पनि घटना भएको हुन सक्ने आशंका छ।आफ्नो खाताबाट रकम झिकेको भन्दै विदेशी नागरिकले उजुरी दिए। सिंहले रकम झिकेपछि कारोबार शंकास्पद देखिएको भन्दै स्ट्यान्डर्ड बैंकले नेष्टो एकाउन्टबाट रकम तान्यो। एसबीआईको खाताबाट रकम तानेपछि बैंकले सिंहको खाताबाट तान्‍न खोज्दा रकम नपुगेपछि बैंक प्रहरीकहाँ पुगेको थियो।अनुसन्धानका क्रममा सिंहको मोबाइलमा क्रिप्टोकरेन्सीको कारोबार गर्ने एप समेत भेटिएको थियो। सिंह यसअघि पनि ठगी मुद्दामा परेका व्यक्ति हुन्।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६