गुल्मी १६ कात्तिक । नेपाली कांग्रेस गुल्मीले आगामी मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्ने भएको छ । तम्घासस्थित जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवनमा बसेको जिल्ला कार्य समितिको एघारौँ बैठकमा मंसिर पहिलो हप्ताभित्र दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरिएको सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।यस जिल्लाका ९३ वटै वडा र १२ वटै स्थानीय तहमा पार्टीको सम्मेलन सकिएको भन्दै अब आगामी मंसिर पहिलो हप्ताभित्र दोस्रो जिल्ला सम्मेलन सम्पन्न गर्ने तयारीमा गुल्मी कांग्रेस लागेको उहाँले बताउनुभयो ।
पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन पनि सम्मेलनको अति नै आवश्यकता रहेको भन्दै सबैको सल्लाह एवम् सुझावमा दोस्रो जिल्ला सम्मेलनलाई मंसिर पहिलो हप्ताभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ । तर अहिले नै मिति भने तय नगरिएको सचिव भगतसिंह खड्काले जानकारी दिनुभयो ।बैठकमा आएका विचार र सुझाव सल्लाहका आधारमा सबै नेता एवम् कार्यकर्ताको मनोभावनाअनुसार पार्टीका आगामी कार्यक्रम तय गरिने भन्दै दोस्रो जिल्ला सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ ।
कात्तिक २२ गते एकै दिन जिल्लाका १२ वटै स्थानीय तहमा पार्टीको दोस्रो जिल्ला सम्मेलन सफलताका साथ सम्पन्न गर्नका लागि तयारी बैठक बस्ने भएको सचिव जगदीश भट्टराईले बताउनुभयो ।लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्यहरू, पूर्व जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, स्थानीय तहका सभापति, विभिन्न भातृ तथा शुभेच्छुक सङ्गठनका सभापतिहरूको उपस्थिति रहेको सो बैठकमा जिल्ला पार्टी सङ्गठनको बारेमा छलफल भएको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया