भैरहवा १७ कार्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि नयाँ कार्ययोजना बनाएको छ।प्राधिकरणले सबै वायु सेवा प्रदायक कम्पनीका न्यारोबडी जहाज अर्को वर्षदेखि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र उडान गर्ने कार्ययोजना बनाएको हो। प्राधिकरणले यो कार्ययोजनाबारे पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि जानकारी गराएको छ।
पर्यटनमन्त्री सुदन किरातीले शुक्रबार राखेको बैठकमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कार्ययोजनाबारे जानकारी गराएका छन्। बैठकमा मुख्य सचिव बैकुण्ठ अर्याल, कानुनसचिव उदयराज सापकोटा र अर्थसचिव कृष्णहरि पुष्कर पनि सहभागी थिए।अधिकारीले यसका लागि खासगरी श्रम गन्तव्य देशका भिसा सेन्टर पोखरा र भैरहवामा विस्तार गर्न लगाउनुपर्ने बताएका छन्। ‘पोखरा र भैरहवाबाटै भिसाको काम भयो भने वैदेशिक रोजगारीमा जान चाहनेहरुले काठमाडौं आउनुपर्ने छैन। अनि ती विमानस्थलबाटै उडान गर्न सकिन्छ,’ बैठकमा उनले भने।प्राधिकरणको प्रस्तावमा मन्त्री किराती सकारात्मक देखिएका छन्। ‘काठमाडौंमा एयर ट्राफिक कम गर्न तथा पोखरा र भैरहवामा व्यापार बढाउन महानिर्देशकले न्यारोबडी जहाजको उडानबारे नयाँ प्रस्ताव गर्नुभयो। अर्को वर्षदेखि न्यारोबडी जहाजको उडान पोखरा र भैरहवाबाट मात्र गर्ने प्रस्तावमा मन्त्रीज्यू सकारात्मक देखिनुभएको छ,’ बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले भने।
गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएको डेढ वर्ष तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब एक वर्ष भएको छ। गौतम बुद्ध विमानस्थलबाट अहिले सातामा एउटा मात्र अन्तर्राष्ट्रिय उडान हुने गरेको छ भने पोखराबाट अहिलेसम्म एउटै नियमित उडान भएको छैन। जसका कारण ती विमानस्थलमा गरिएको लगानीमाथि नै प्रश्न उठ्न थालिसकेको छ। दुवै विमानस्थल ऋण लिएर बनाइएका हुन्।‘हरेक मुलुकको आआफ्नो एयर ट्राफिक फोरकास्ट हुन्छ। काठमाडौंबाटै सबै उडान गर्नु पर्छ भन्ने छैन। पोखरा र भैरहवामा पूर्वाधार तयार भइसकेको अवस्थामा त्यहाँका विमानस्थल सञ्चालन गर्ने योजना त चाहियो नि,’ महानिर्देशक अधिकारीले भने, ‘हाम्रो प्रस्ताव कार्यान्वयन हुन सके पोखरा र भैरहवा पूर्ण क्षमतामा सञ्चालन हुन्छन्। काठमाडौंमा पनि एयर ट्राफिकको समस्या हुने छैन। तर यसका लागि सरकारका सम्वद्ध निकायबीच सहकार्य आवश्यक छ। हाम्रो चाहनाले मात्र हुँदैन
प्राधिकरणले दुई विमानस्थल सञ्चालनमा ल्याउने आफ्नो प्रस्ताव कार्यान्वयन हुन सके त्यसले पोखरा र भैरहवामा आर्थिक गतिविधि बढ्ने र समग्र मुलुकलाई नै फाइदा पुग्ने बताएको छ।‘त्रिभुवन विमानस्थलमा अहिले दिउँसो र रातिको समयमा ट्राफिक कन्जेसनका कारण उडान प्रभावित हुँदै आएका छन्। पोखरा र भैरहवाबाट न्यारोबडी जहाजको उडान गराउन सके उडान प्रभावित हुने अवस्था रहँदैन। यात्रुलाई पनि सहज हुने छ। साथै मुलुकको अर्थतन्त्र चक्रमै सकारात्मक प्रभाव पर्नेछ,’ अधिकारीले भने।प्राधिकरणले आफ्नो प्रस्तावबारे चाँडो निर्णय गर्न मन्त्रालयसमक्ष आग्रह गरेको छ। त्यसो भए वायु सेवा प्रदायक कम्पनीलाई ६ महिना अगाडि नै सूचना दिने प्राधिकरणको तयारी छ। मन्त्रालयले भने यस विषयमा तिहारपछि अध्ययन गरेर निर्णयमा पुग्ने जवाफ दिएको छ।
१७ कार्तिक २०८०, शुक्रबार








प्रतिक्रिया