कृषि

दाङका किसानले पाएनन् धानको समर्थन मूल्य



देउखुरी, २३ कात्तिक । दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिद बिक्री भइरहेको छ ।

सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ र मध्यम धानको रु तीन हजार तीन सय ६२ तोकेको पनि किसानले भने सो मूल्यभन्दा कममा बिक्री गर्न बाध्य भएका छन् ।

घोराही उपमहानगरपालिका–६ का मनोज चौधरीले गतवर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार चार सयमा बिक्री गरेको र यसपाली व्यापारीसँगको सहमतिमा रु दुई हजार सात सयमा धान बिक्री गरेको बताए । उनले एक बिघा जमिनमा धानखेती गरेका छन् ।

घरमा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । “महँगोमा बीउ, मल र श्रमिक लगाएर धानखेती गर्नुपर्छ । तर धानको समर्थन मूल्य नपाउँदा लगानी खेर गएको जस्तो लाग्छ”, उनले भने ।

व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ । सरकारले तोकेको मूल्य यहाँ हालसम्म मूल्य लागू हुनसकेको उनीहरुको गुनासो छ । लमही नगरपालिका–३ का बेजलाल चौधरीले पनि व्यापारीको सहमतिमा प्रतिक्विन्टल रु दुई हजार नौ सयमा स्थानीय व्यापारीलाई धान बिक्री गरेको बताए । समयमै पानी परेकाले यसवर्ष धान उत्पादन राम्रो भए पनि समर्थन मूल्य पाउन नसक्दा आम्दानी कम भएको उनको भनाइ छ ।

लमही नगरपालिका –५ स्थित कक्षपति राइस मिलले यसवर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार नौ सय र मसिनो धान प्रतिक्विन्टल रु तीन हजार दुई सयमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताए । गतवर्ष भन्दा यो वर्ष धानको मूल्य राम्रो रहेको उनले बताए । मिलले धान खरिद गरेर चामल बनाइ बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्यमा किसानको धान खरिद गर्न नसकेको उनको भनाइ छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन । भौतिक पूर्वाधारको अभाव र जनशक्ति अभावका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताए । कम्पनीसँग हाल पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुई वटा गोदाम छन् ।

कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कअनुसार यस वर्ष ३८ हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । रासस

प्रकाशित : २३ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६