प्रदेश

जाजरकोट भूकम्पमा परि घाइते भएका ४८ जना निको भएर घर फर्किए



बाँके, २८ कात्तिक । जाजरकोट भूकम्पमा घाइते भइ नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ जना बिरामी निको भएर घर फर्किएका छन् ।

अब भूकम्पमा परि घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो।

‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ जना बिरामीमात्रै हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’

भूकम्पमा परि घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।

भूकम्पमा परि घाइते भइ भेरीमा उपचार गर्न ल्याइनुभएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसक्नुभएको छ । तीन जनालाई काठमाण्डौ रेफर गरिएको थियो भने एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो ।

निको भएर घर फर्किनुभएका बिरामीलाई घरसम्म पुग्न विभिन्न सङ्घ संस्थाको समन्वयमा निःशुल्क यातायातको व्यवस्था गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

यो भूकम्पमा परि एक सय ५४ जनाको ज्यान गएको छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो।

प्रकाशित : २८ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६