बुटवल २४ मंसिर।रुसी सेनामा भर्ना भएका पाल्पाका एकयुवा दुईसाता देखि सम्पर्क विहिन भएको भन्दै परिवारले खोजि गरि स्वदेश फिर्ताको पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं। ३ भुवनपोखरी रुगका विष्णुबहादुर पौडेल एकमहिना अघिमात्रै रुसी सेनामा भर्ना भएर युक्रेनी सिमाक्षेत्रमा खटिएका थिए। विष्णुका दाई ईन्द्र बहादुर पौडेलका अनुसार विष्णु तिनवर्ष अघि नेपाली सेनाबाट अवकाश पाएका थिए।
अवकासपछि घरमै रहेका विष्णुले परिवारलाई जानकारी नदिई गत असोज २९ गते रुस गएको दाई ईन्द्रले बताए। घरमा बडादशैंको तयारी गरिरहेका बेला रुस गएको भन्दै परिवारसँग सम्पर्क गरेका विष्णुले पछिल्लो दुईसाता देखि भने परिवारसँग कुनै सम्पर्क नगरेको ईन्द्रबहादुरले बताए। रुस गएको केहि दिनमै गत नोभेम्बर ३ तारिखमा रुसी सेनामा भर्ना भएका विष्णुले आफुलाई युक्रेनको सिमा क्षेत्रमा खटाईएको बताएका थिए।
उनले आफुलाई रुसी राइफल म्यानको जिम्मेवारी दिएर रोस्टभ रिजनको पेरसिअनोस्कि गाउँमा खटाएको नियुक्तिपत्र परिवारका सदस्यलाई पठाएका थिए। तर युद्धग्रस्त मुलुकमा नियमित फोन सम्पर्क गर्न नपाईने भन्दै बेलाबेला फेसबुक म्यासेन्जरमा म्यासेज छोड्ने गरेपनि दुईसाता देखि भने कुनै सम्पर्क नगरेको ईन्द्रले बताए। त्यसअघि आफु विरामी भएकोले युक्रेनी सिमाक्षेत्रको अस्पतालमा भर्ना भएको भन्दै भाई प्रदिपलाई सन्देश पठाएका विष्णुले त्यसपछि भने कुनै सम्पर्क गरेका छैनन्।
रुसी सेनामा भर्ना भएपछि नै कसैसँग सम्पर्क गर्न नदिएको र अस्पतालबाट लुकेर सम्पर्क गरेको उनले भाई प्रदिपलाई बताएका थिए। दाई ईन्द्रले घरपरिवारले युद्धग्रस्त मुलुकमा रोजगारीका लागि नजान आग्रह गरेपनि राम्रो तलब पाईने र एकवर्षमै त्यहाँको ग्रिनकार्ड पाईने प्रलोभनमा आफुहरुलाई जानकारी नगराई भाई रुस गएको बताए।
एजेन्टले रुस पुगेपछि तत्कालै राम्रो तलब दिएर रुसी सेनामा भर्ना गर्ने भन्दै रुस जाने कुरा घरपरिवारलाई समेत जानकारी नगराउन भनेको ईन्द्रले बताए। त्यहाँ पुगेपछि भने छुटकारा पाउन सके घर फर्किने ईच्छा देखाएको श्रीमती सुमित्राले बताईन्। ईन्द्रले भाईलाई स्वदेश फिर्ताको लागि पहल गरिदिन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, रुसमा रहेको नेपाली दुतावास, गैर आवासीय नेपाली संघ लगायतसँग अनुरोध गरेका छन्।
रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्माङ्गगत भट्टराईले यसअघि गाउँबाट कुनैपनि युवा रुस गएको जानकारी नभएको र दुईदिन पहिले मात्रै निज पौडेल रुसी सेनामा भर्ना भएको र हाल सम्पर्कमा नरहेको भन्ने जानकारी पाएको बताए।
प्रतिक्रिया