रुपन्देही ३ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सिद्धवावा क्षेत्रमा छिटो काम नगरे कारवाही थाल्ने चेतावनी दिनु भएको छ । उहाले सिद्धवावा सुरङमार्ग सरकारको उच्च प्राथमितामा परेपनि ठेकेदार पक्षले यसको महत्व नबुझेको भन्दै रातदिन नभनि काम गर्न निर्देशन दिनु भएको छ । बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको बताउनुभएको छ । मन्त्री ज्वालाले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षणपछि सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै निर्माणमा गति दिन निर्देशन दिनुभयो । मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल रूपमा पूरा गर्नका लागि आकस्मिक रूपमा निरीक्षण गरिएको बताउनुभयो ।
उहाँले निर्माण व्यवसायीको कामप्रति सन्तुष्ट हुन सक्ने अवस्था नरहेको बताउनुभयो । मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्वारसहित तीन वटा क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब तीन किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले सुरुङमार्गको अवधारणा अघि सारिएको हो । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि सात अर्ब ३४ करोड सम्झौता गरेको हो । निरीक्षणमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कामले गति लिन नसकेको स्वीकार गर्नुभयो । उहाँले सुरुङमार्ग नेपालका लागि नयाँ भएकाले अहिले बाहिरी डिजाइन स्वीकृत गरेर काम भइरहेको बताउनुभयो ।
मन्त्री ज्वालाले बुटवल नारायणगढ सडकखण्डको पनि निरीक्षण गरेका गर्नुभएकोे छ । उहाँले सडक निर्माण समयमा पूरा नहँुदा नागरिकले सास्ती पाएको विषयमा जनगुनासो व्यापक भएकाले आफू निरीक्षणमा आएको बताउनुभयो । मन्त्री ज्वालाले आफू बुटवल–नारायणगढ सडकको काममा भइरहेको ढिलाइप्रति निकै चासो रहेको बताउनुभयो । उक्त अवसरमा बुटवल–नारायणगढ पश्चिम सेक्टर आयोजना प्रमुख शशाङ्क मिश्रले पर्याप्त मात्रामा निर्माण सामग्री नपाउँदा काममा ढिलाइ भएको बताउनुभयो । उहाँका अनुसार नारायणगढ बुटवल पश्चिम खण्डमा ३९ प्रतिशत भौतिक प्रगति भएको छ । मन्त्री ज्वालाले हुलाकी सडकखण्डको समेत निरीक्षण गर्नुभएको थियो ।
४ पुस २०८०, बुधबार
प्रतिक्रिया