प्रदेश

लुम्बिनीको मन्त्रिपरिषद् पुनर्गठनमा कांग्रेसको संस्थापनइतर पक्ष असन्तुष्ट



बुटवल, ०८ पुस । लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तारमा पार्टीभित्रको संस्थापन इतर समूहलाई नसमेटेको भन्दै उक्त समूहले तीव्र असन्तुष्टी जनाएको छ ।

मुख्यमन्त्री चौधरीले कांग्रेसबाट प्युठानका रोज राणा भनिने सरोज थापा र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई शनिबार साँझ मन्त्री नियुक्त गरेका छन् । उनीहरुको सपथ ग्रहण आज हुँदैछ ।

मुख्यमन्त्रीले पार्टीभित्रका समूह, भूगोल, सिनियारिटी र कार्यक्षमता नहेरी आफ्नो गुटका मान्छेलाई मन्त्री बनाएको भन्दै संस्थापन इतर समूह रुष्ट बनेको हो । मुख्यमन्त्रीले पार्टी प्रदेश कार्यसमितिसँग छलफल सल्लाह नगरी एकलौटी ढंगले अघि बढेको प्रदेश सभापति अमरसिंह पुनले बताए । ‘मुख्यमन्त्रीलाई पार्टी हैन गुट मात्रै चाहिएको देखियो, पार्टीलाई पाखा लगाएर कसरी सरकारले काम गर्छ भन्ने प्रश्न उब्जेको छ,’ पुनले भने ।

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री विक्रम खनालले मुख्यमन्त्रीले पार्टीको प्रदेश समितिलाई बेवास्ता गरेर मनोमानी ढंगले मन्त्रिपरिषद विस्तार गरेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र यसबारे भोलि संसदीय बोर्डको बैठक बोलाएर मुख्यमन्त्रीसँग सोधिने बताए ।

‘मुख्यमन्त्रीले क्याबिनेट विस्तार गर्दा पार्टीसँग कुनै छलफल सल्लाह लिनुभएन, पार्टीभित्रको अर्को पक्षलाई समेट्नुपर्छ भन्ने ठान्नुभएन र भूगोल, सिनियारिटी, कार्यक्षमता केही नहेरी गुट मात्रै हेर्नुभयो, यसमा पार्टी प्रदेश समिति गम्भिर बनेको छ’ महामन्त्री खनालले भने, ‘यी सबै कुरा भोलि संसदीय बोर्डको बैठकमा मुख्यमन्त्रीसँग सोध्छौं र आवश्यक निर्णय लिन्छौं ।’

यसअघि मन्त्रिमण्डलमा संस्थापन पक्षबाट मुख्यमन्त्रीसहित दाङका राजु खनाल मन्त्री छन् । लुम्बिनीमा तीन वटा मन्त्रालय खाली रहे पनि नेपाली कांग्रेस प्रदेश समितिले आर्थिक भार बढ्ने भन्दै १० जना भन्दा बढी मन्त्री बनाउन नहुने निर्देशन दिएको छ ।

गत बैशाख १४ गते एमाले र राप्रपा बाहेक ८ राजनीतिक दलको समर्थनमा दाङका डिल्ली चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सत्ता साझेदार दलहरुको वीचमा सहमती कायम नहुँदा सरकार बनेको झण्डै ९ महिनासम्म पनि सरकारले पूर्णता पाउन सकेको थिएन ।

लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री, लोसपाका सन्तोषकुमार पाण्डेय गृहमन्त्री र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी भौतिक पुर्वाधार विकास मन्त्री छन् ।

प्रकाशित : ८ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६