खोज–अनुसन्धान

कांग्रेस -माओवादी लुम्बिनीमा आकांक्षीको लर्को लागेपछि सबै नाम केन्द्रमा पठाउने तयारी

राष्ट्रिय सभाका २ स्थान :१५० बढी आकांक्षी



रुपन्देही ११ पुस । कांग्रेस लुम्बिनीबाट राष्ट्रिय सभामा जाने आकांक्षीको लर्को लागेको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा जित निश्चित हुने देखिएकाले पनि अहिले राष्ट्रिय सभामा जानका लागि धेरैैले आकांक्षा देखाएपनि नेतृत्वलाई छनौटका लागि संकट परेको छ । लुम्बिनीबाट दुई सीटमा नेपाली कांग्रेसले उम्मेदावर बनाउने भएको छ । जसमा एक महिला र एक पुरुष रहने छन् ।

लुम्बिनीबाट राष्ट्रिय सभामा भएका एमाले तर्फबाट कुमार दसौदी र कांग्रेसकी अनिता देवकोटाको पदावधि फागुन २० गते सकिँदैछ । पुस २३ गते राष्ट्रियसभा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीका सबै जिल्लाबाट आकांक्षीको नाम प्रदेश समितिले माग गरेको थियो । अहिले पूर्वमन्त्रीसहित प्रतिनिधिसभा सदस्यमा पराजित नेताहरु समेत आकांक्षी देखिएपछि नेतृत्वलाई छनौटका लागि समस्या परेको हो । रुकुमपूर्वबाहेक ११ जिल्लाबाट कांग्रेस जिल्ला सभापतिले १ सय २१ जनाको नाम कांग्रेस प्रदेश कार्यसमितिमा सिफारिस आएको जनाइएको छ ।राष्ट्रिय सभामा उम्मेदार हुन अर्घाखाँचीबाट पुष्पा भुसाल, गुल्मीबाट चन्द्र केसी, प्युठानबाट डा गोविन्द पोखरेल, रुपन्देहीबाट भरत शाहसहितका नेताहरुको नाम सिफारिस भएर आएको छ ।

यसअघि समानुपातिकबाट सांसद बनेर पूर्वउपसभामुखसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य भुसाल २०७९ को प्रतिनिधिसभा सदस्यमा अर्घाखाँचीबाट पराजित भएकी थिइन् । शाह रुपन्देही निर्वाचन क्षेत्र–५ बाट पटक पटक सांसद बनेर मन्त्री, लेखा समिति सभापति तथा ०७९ को निर्वाचनमा उम्मेदवार बनेर पारजित भएका थिए ।

कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाबाट सिफारिस भइ आएका उम्मेदवारको बारेमा कैफियत खुलाएर सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको र नाम छनौट गरेर पठाउने जिम्मेवारी सभापतिलाई दिएको कोषाध्यक्ष प्रकाश रानाले बताए । पार्टीमा सबैको विगत र हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिका लगायत पृष्ठभूमि खुलाएर मात्रै नाम सिफारिस गर्न दवाव छ ।

कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा संसदीय बोर्ड सदस्य विष्णु पोखरेलले बारम्बार अवसर लिएकालाई पार्टीले विचार गर्नुपर्ने र ‘यसअघि मन्त्री, सांसद भएका र पटकपटक अवसर पाएकालाई भन्दा नयाँलाई पार्टीले अवसर दिनुपर्ने बताए ।
माओवादीलाई सीटै छैन तर शीर्ष नेताहरु नै धेरै आकांक्षी

लुम्बिनी प्रदेशबाट माओवादीलाई कुनै सीट छुट्टाइएको छैन माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि तर दुई दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । राष्ट्रियसभाको उम्मेदवारका लागि शुक्रवार माओवादी केन्द्रले तीन जनामा नाम सिफारिस गरी पठाउन मातहतका कमिटीलाई परिपत्र जारी गरेको थियो।

लुम्बिनीबाट पार्टी केन्द्रमा पहुँच राख्ने नेताहरु गणेशमान पुन, हकिकुल्ला खान, दलजित सिर्पाली, जयपुरी घर्ती, कुवेर ओली लगायतका नेताहरूले नै उम्मेदवार बन्ने आकांक्षी देखाएका हुन् । यी मध्ये घर्ती, पुन र श्रीपाली पूर्वमन्त्री हुन् ।

यस्तै अर्घाखाँचीबाट ठाकुर विक, नवलपरासीबाट घनश्याम यादव, सीता पौडेल आकांक्षी छन् । त्यस्तै गुल्मीबाट मीनबहादुर पाण्डे, नारायणसिंह अधिकारी, कृष्ण अधिकारी, रुपन्देहीबाट रितु श्रेष्ठ रहेका छन् । दाङबाट श्रेषुराम भण्डारी, बर्दियाबाट भवन थारु आकांक्षी देखिएका छन् ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले अहिलेसम्म दुई दर्जन आकांक्षी उम्मेदारको नाम आएको र केन्द्रले तीन जनाको नाम सिफारिस गरेर पठाउन भनिए पनि त्यो सम्भव नभएकाले सबैको नाम पठाउने बताए ।

अहिले माओवादीबाट यहाँको दुई उम्मेदारको कोटा नभएपनि केन्द्रले नाम पठाउन भनेकाले प्रकृयामा गएको उनको भनाइ छ । माओवादीले यसपटक गत निर्वाचनमा उम्मेदार भएकालाई भने सिफारिस नगर्ने नीति लिएको बरालले बताए।

प्रकाशित : ११ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६