प्रदेश

सुरुङ मार्ग खण्ड सय दिन सडक बन्द गर्ने निर्णयमा पाल्पा र रुपन्देहीका सिडिओको फरक फरक निणर्य



बुटवल, १३ पौष। सिद्धार्थ राजमार्ग अन्तर्गतको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग खण्डमा यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द गर्ने पाल्पाका प्रमुख जिल्ला अधिकारीको निर्णयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले असहमति जनाउंदै अर्को निर्णय गरेका छन् ।


पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पुस ८ गते एक सूचना जारी गरी सुरुङ मार्ग निर्माण स्थलमा पुस १६ गते सय दिनसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म दमकल, एम्बुलेन्स, शववाहन र विपदका साधन बाहेकका सवारीसाधनलाई सन्चालनमा रोक लगाउने सूचना जारी गरेका थिए ।


तर उक्त निर्णयमा सुरुङ मार्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई कामको प्रगतिबारे कुनै शर्त नराखिएको,सडक प्रयोगकर्तालाई वैकल्पिक मार्गको विषयमा उल्लेख नगरिएको, रिडीमा लाग्ने हिन्दु नेपालीहरुको महत्वपूर्ण पर्व रिडी स्नान मेलाबारे ख्याल नगरिएकाले सडक बन्दबारे अर्को निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
एकैपटक सय दिन दिनसम्म सडक बन्द गर्ने निर्णय उपयुुक्त नभएको भन्दै रुपन्देहीका प्रजिअ अर्यालले सडक बन्द हुने सय दिनलाई दुई चरण (५०–५० दिन) मा विभाजित गरी प्रत्येक हप्ताको कामको प्रगतिको सुक्ष्म अनुगमन गरेर मात्र अर्को निर्णय गर्नुपर्ने निर्णय गरेका छन् ।


कामको प्रगति तथा समग्र प्रभावको सुक्ष्म अनुगमनका आधारमा दोस्रो चरणको आवागमन बन्द गर्ने निर्णयलाई आवश्यकता अनुसार थप परिमार्जन गरिने उनले बताए ।

यस्तै माघे संक्रान्ति र रिडि मेलालाई मध्यनजर गर्दै पुस २९देखि माघ १ गतेसम्म सवारी साधन आवागमन बन्द नहुने निर्णय गरेका छन् । सडक आवागमन बन्द गरी गरिने निर्माण कार्यहरु निर्धारित ससमयमा पूरा गर्ने र निर्माण कार्यको प्रगतिको साप्ताहिकरुपमा सुक्ष्म अनुगमन गरी सर्वसाधारणको जानकारीका लागि सार्वजनिक समेत गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिए ।


सवारी साधनको आवत जावत बन्द गर्ने समय अवधिमा वैकल्पिक सडकको रुपमा साना सवारी साधनको लागि नुवाकोट–दोभान सडक खण्डलाई प्रयोगमा ल्याउने र उक्त सडक सहज सञ्चालनका लागि मर्मत कार्ययोजना कार्यालयले तत्कालै गर्ने निर्णय भएको छ ।


सडक बन्द हुने र गरिने विषयको सूचना सम्बन्धित सबै सरोकारवाला निकायहरु तथा सडक प्रयोगकर्ताहरुमा प्रवाह गर्न होर्डिङ बोर्ड लगायत आवश्यक व्यवस्था गरी अन्योलता हटाउने र सडक प्रयोगकर्ता लगायत सरोकारवालाहरुको सहजताका लागि सम्पर्क व्यक्तिको रुपमा योजना कार्यालयका इन्जिनियर सविता ज्ञवालीलाई तोक्ने निर्णय भएको छ । सडक आवागमन बन्द हुने समयमा हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले आवश्यक सतर्कता र सावधानी अपनाउन प्रजिअ अर्यालले निर्देशन दिएका छन् ।


सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउने काम जारी छ ।


चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्न ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का पाएको छ । सम्झौता अनुरूप काम भए अबको चार वर्षमा सिद्धबाबामा सुरुङ मार्ग बन्ने छ ।


रुपन्देहीको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग डेढ वर्ष अघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।


सुरुङ मार्ग निर्माण शुरु गर्नु अगाडि बुटवल र पाल्पा दुवैतर्फको जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे ३ किलोमिटर सडकलाई सुरक्षित बनाउने काम भइरहेको छ ।

प्रकाशित : १३ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६