प्रदेश

लुम्बिनीमा राष्ट्रिय सभा निर्वाचनका लागि दौडधुप सुरु



कपिलवस्तु, ०३ माघ । राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारहरु मत माग्दै जिल्ला दौडाहामा लागेका छन् । गठबन्धनको तुलनामा कमजोर मतभार रहेको एमाले भने जित्ने रणनीति बनाईरहेको छ । लुम्बिनी प्रदेशबाट २ सिटका लागि ६ जना उम्मेदवार छन् ।

माघ ११ गते हुने निर्वाचनका लागि गठबन्धनबाट उम्मेवार बनेका कांग्रेसका विष्णु सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी संयुक्त रुपमा प्रदेशका पहाडी जिल्ला दौडाहामा छन् । त्यस्तै एमालेका झपेन्द्रबहादुर जिसी र तुलसाकुमारी केसी पनि छुट्टाछुट्टै मत माग्दै हिँडेका छन् । लुम्बिनीमा राप्रपाले विजयलक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार छन् । २ सिटका लागि ७ जनाको उम्मेदवारी परेकोमा राप्रपाका निरञ्जन थापाले उम्मेदवारी फिर्ता लिएका थिए ।

सत्ता गठबन्धनले संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर चुनाव प्रचारप्रसारमा लागेको छ । त्यही परिचालन कमिटीको योजना अनुसार सत्ता गठबन्धनका उम्मेदवारले पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका पहाडी जिल्लामा भेला गरेर प्रचारप्रसारको काम सम्पन्न गरेको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले बताए । त्यस्तै तराईका जिल्लामा पनि उम्मेदवारको टोली पुग्ने, भेला गर्ने, आफ्ना योजनाहरु सुनाउने गरी योजना बनाईएको उनले बताए । गठबन्धनले संयुक्त बैठक राखेर समयतालिकासहितको चुनावी योजना बनाएर प्रचारप्रसारमा लाग्ने निर्णय गरेको थियो ।

एमालले पार्टीको सिंगो प्रदेश कमिटीलाई नै परिचालन गरेर रणनीतिक रुपमा मत मागिरहेको छ । दुवै उम्मेदवारहरु आफ्ना सम्पर्क सुत्रहरु मार्फत् जिल्ला(जिल्लामा परिचालन भएको र त्यहीअनुसार मत मागरिहेको एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए ।

‘उम्मेदवार साथीहरु विभिन्न माध्यमहरुको प्रयोग गर्दै मत मागिरहनु भएको छ, सिंगो पार्टी नै परिचालन भएको छ,’ उनले भने, ‘गठबन्धनको मतभारको तुलनामा एमालेको मतभार कम रहेपनि हाम्रा दुवै उम्मेवारले जित्ने रणनीतिका साथ प्रचारप्रसारको काम गरिरहनु भएको छ ।’ गठबन्धनमा असन्तुष्ट भएका दलहरुसँग मत मग्ने र सहकार्य गरेर जाने सम्भावना पनि रहेको उनले बताए । लुम्बिनीमा राप्रपा, जनमत र स्वतन्त्रहरुको मत तान्ने प्रयासमा एमाले छ ।

सत्ता गठबन्धन दलमा रहेपनि असन्तुष्ट देखिएको जनमत पार्टीका उम्मेदवार बालगोविन्द चौधरीले आफूले मतदातासँग भेटेरै मत मागिरहेको बताए । उनले नवलपरासी, रुपन्देही, कपिलबस्तुलगायतका जिल्लामा पुगेर मत मागेको बताए । अन्य जिल्लामा पार्टीका कार्यकर्ताहरुले प्रचारप्रसार गरिरहेको चौधरीले बताए । राप्रपाका उम्मेदवार विजयलक्ष्मी सिंहले कपिलवस्तुका १० स्थानीय तहका २० जना जनप्रतिनिधिहरुलाई भेट गरेर मत मागेको बताईन् ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ८ हजार ७ सय ५३ मतभार रहेको छ । त्यसमा सत्ता गठबन्धनको पुरै मत एकैतर्फ भएको अवस्थामा ५ हजार ४ सय ७७ मत रहेको छ । प्रदेशमा कांग्रेसको मात्र ३ हजार १ सय ७९ मत छ । लुम्बिनी प्रदेश सभाका कांग्रेसका २७ र स्थानीय तहमा ९२ जना प्रमुख उपप्रमुख निर्वाचित छन् ।

त्यस्तै एमालेको २ हजार ८ सय १० मतभार छ । लुम्बिनीमा एमालेका २९ प्रदेश सभा सदस्य र स्थानीय तहमा ६७ जना प्रमुख उपप्रमुख छन् । राप्रपाको २ सय ६९ मतभार रहेको छ । त्यस्तै छुट्टै उम्मेदवारी दिएको जनमत पार्टीको १ सय ५९ मतभार रहेको छ । लुम्बिनीमा स्थानीय तह तर्फ जनता प्रगतिशिल पार्टीको पनि ३८ मतभार रहेको छ । लुम्बिनीमा सत्ता गठबन्धनको माओवादीको १ हजार ३ सय ४३ मतभार रहेको छ । माओवादीबाट ११ जना प्रदेश सभा सदस्य र ४० जना स्थानीय तहमा प्रमुख उपप्रमुख निर्वाचित भएका छन् ।

त्यस्तै लुम्बिनीमा सत्तागठबन्धनको अर्को दल जनता समाजवादीको २ सय ७३, नागरिक उन्मुक्ति पार्टीको २ सय १२, लोकतान्त्रिक समाजवादीको २ सय ३५ मतभार रहेको छ । त्यस्तै १ जना प्रदेश सभा सदस्य मात्र रहेको नेकपा एकिकृत समाजवादीको मतभार ५३ मात्र रहेको छ । त्यस्तै एक प्रदेश सभा सदस्य र स्थानीय तहमा ४ प्रमुख उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको १ सय २९ मतभार रहेको छ । लुम्बिनी प्रदेशमा गठबन्धनको मतभार बलियो रहेको र कुनैपनि मत दायाँबायाँ नहुने गरी सबै पार्टीहरु परिचालन भएको माओवादी केन्द्रका अध्यक्ष सुदर्शन बरालले बताए ।

प्रकाशित : ३ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६