खोज–अनुसन्धान

प्रेस स्वतन्त्रता उल्लङ्घनका ३४ वटा घटना :एक वर्षमा २९ महिलाले पेशा छाडे




काठमाडौँ २२ बैशाख । काठमाडौँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना सार्वजनिक गरेको छ । मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका ३४ वटा घटना भएको मिडिया एक्सन नेपालले जनाएको छ । ती घटनामा पत्रकारविरुद्धका धम्की, आक्रमण र उत्पीडनसमेत छन् । यी घटनाहरूमा शारीरिक आक्रमण, मौखिक दुर्व्यवहार, धम्की, गैरकानुनी गिरफ्तारी र उपकरण जफतसहितलाई समेटिएको छ ।प्रतिवेदनले पत्रकारिता पेशाबाट महिला पत्रकारहरूको चिन्ताजनक पलायनलाई पनि झल्काएको छ । यस अवधिमा २९ जना महिलाहरूले यो पेशा छोडेका छन् । यो समस्याले महिला पत्रकारहरूले कार्यस्थलमा सामना गर्ने चुनौती र जोखिमहरूलाई उजागर गरेको छ ।
महिला पत्रकारहरूले लैङ्गिक भेदभाव, यौन उत्पीडन र करिअर अघि बढाउँदा असमान अवसरहरूको पनि सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ । यी घटनाले महिलासँगै सबै पत्रकारहरूका लागि सुरक्षित र थप समावेशी वातावरण सिर्जना गर्न सुधारको आवश्यकता देखाएको छ । प्रतिवेदनले नेपालका मिडिया हाउसभित्र श्रम अधिकार उल्लंघनलाई पनि उजागर गरेको छ ।तलब नपाउने, पाए पनि समयमा नपाउने तथा नियक्ती पत्र सम्झौता कागजातहरूको अभावदेखि न्यायका लागि जटिल कानुनी प्रक्रिया र मिडिया मालिकबिचको समूहवादसम्म उल्लेख छन् ।श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नहुनुले पत्रकारहरूलाई शोषण र दुर्व्यवहार, उनीहरूको स्वतन्त्रतामा हनन र पत्रकारिता पेशामै चुनौती थपिदिएको छ ।पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनताका कारण समस्या भएको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्वकालमा दर्ता भएका ३९ वटामध्ये पाँच वटामा मात्रै मुद्दा चलाइँदा थप चुनौती बढेको पाइएको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग प्रभावकारी रूपमा न्याय दिन नसक्दा पीडित र तिनका परिवारहरू निराश भएका मिडिया एक्सनले जनाएको छ । मिडियामा पनि डर र दण्डहीनताको संस्कृति कायम रहेको उक्त संस्थाले जनाएको छ ।कार्यक्रममा बोल्दै मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रियंका झाले मिडियामा महिला सुरक्षा, प्रेस स्वतन्त्रता र समावेशिताका लागि सबैले मिलेर अघि बढ्नु पर्ने बताइन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले पत्रकारहरू समाजको मार्गदर्शन गर्ने तेस्रो आँखा भएको बताए । उनले आफूलाई मात्रै नभई अबको पीढीका लागि पनि वातावरण बचाउन अनुरोध गरे । यसमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने पनि उनले जिकिर गरे ।
यसैगरी वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले पत्रकारहरूले आफ्नो अधिकार र दायित्व बुझ्दै जिम्मेवार नागरिकको भूमिका निभाउनु पर्ने बताए । युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रफ्टले प्रेस स्वतन्त्र हुनुपर्ने र स्वतन्त्र प्रेसले मात्र लोकतन्त्रको रक्षा गर्ने बताए । मिडिया एक्सन नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा पत्रकारको अधिकार रक्षा गर्न, श्रमजीवी पत्रकार ऐन लागू गर्न र कार्यस्थलमा हुने लैङ्गिक भेदभाव तथा उत्पीडनलाई सम्बोधन गर्न आवश्यक रहेको जनाएको छ । प्रतिवेदनले प्रेस स्वतन्त्रतालाई आधारभूत लोकतान्त्रिक सिद्धान्तका रूपमा कायम राख्न, सञ्चारमाध्यम र पत्रकारमाथिको स्वेच्छाचारी प्रतिबन्धबाट टाढा राख्न पनि भनेको छ । उक्त प्रतिवेदन मिडिया एक्सन नेपालको वेबसाइटमा उपलब्ध छ ।

प्रकाशित : २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६