अर्थ-वाणिज्य

बुटवलको चौराहा–गोलपार्क खण्डको सडक निर्माण ठेक्का रद्द




बुटवल, २४ वैशाख । पटक–पटक म्याद थप र ताकेता गर्दा पनि बुटवलको चौराहा–गोलपार्क खण्डको सडक निर्माण ठेक्का रद्द गरिएको छ । बुटवलको मुख्य बजार क्षेत्रको साढे ३ किलोमिटर सडक सात वर्ष अघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएर काम थालेको थियो ।समयमै निर्माण कार्य पूरा गर्न संघ,प्रदेश र स्थानीय सबै तहका जनप्रतिनिधि र क्षेत्रको आग्रह र निर्देशनलाई ठेकेदारले बेवास्ता गरेको भन्दै आइतवार ठेक्का रद्द गरिएको हो । सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर दाहालले पटक–पटकको आग्रह निर्देशनलाई बेवास्ता गरी काम नगर्ने ठेकेदार कम्पनीसँगको ठेक्का तोडिएको बताए ।
दाहालले अब छिट्टै नयाँ सहमतिअनुसार अर्को ठेक्का प्रक्रियामा जाने बताए । अहिलेसम्म यो सडकको काम ५० प्रतिशत मात्र भएको छ ।तीन वर्षमा सक्ने गरी २०७३÷०७४ मा आयोजनाको ५३ करोड ९७ लाख ९९ हजार रूपैयाँमा ठेक्का लगाइएको थियो । कार्यालय यस अघि पनि पटक–पटक ठेक्का तोड्ने चेतावनी दिँदै आएको थियो । तर कन्स्ट्रक्सनका ठेकेदार सुवित श्रेष्ठले त्यसलाई बेवास्ता गरेको कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख विसुनदास लामाले काम सम्पन्न गर्नेतर्फ कम्पनीले चासो नदखाएपछि ठेक्का तोडिएको बताए ।
‘निर्माण कम्पनीलाई कार्य सम्पन्न गर्न लिखित तथा मौखिक रुपमा अनुरोध गर्दा पनि काम भएन’, इन्जिनियर लामाले भने, ‘ठेक्का सम्झौताका सर्त बमोजिम दायित्व पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय भएको हो ।’ मेन लाइन, सर्भिस लेन, नाली लगायतका काम भएका छैनन् । सडकको कारण बुटवल बजार क्षेत्र अस्तव्यस्त छ ।बुटवल उपमहानगरपालिकाले पनि ठेकेदारलाई राखेर निर्माण गति दिन आग्रह गर्दै आएको थियो । चौराहा गोलपार्क सँगै बेलहिया बुटवल खण्डका केही साइडहरुको पनि ठेक्का तोडिएको छ ।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६