प्रदेश

ठेकेदारले लगायो गुल्मीदरबार अस्पतालमा ताला



गुल्मी, ३१ वैशाख । ठेकेदार कम्पनीले पूरा भुक्तानी नपाएको भन्दै भवनमा ताल्चा लगाएपछि गुल्मीको गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल अलपत्र बनेको छ ।

०८० असारमै निर्माण पूरा भइसकेको उक्त भवनमा ताल्चा लाग्दा एक वर्षसम्म प्रयोगमा आउन सकेको छैन । १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपैयाँमा अर्जुन बिल्डर्स प्रालि तम्घासले ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले अझै २ करोड ७ लाख रकम अझै पाएका छैनन् ।

गुल्मीदरबार गाउँपालिका–३, धुरेलडाँडामा बनेको उक्त अस्पतालको भवन प्रयोगमा नआउँदै केही ठाउँमा भत्किन र घाँसले घेर्न थालेको छ । लामो समयसम्म अस्पताल भवन सञ्चालनमा नआउनु दुखद पक्ष रहेको स्थानीय थम्मनबहादुर झार्की मगरले बताए ।

मगरले घर छेउमा अस्पताल बन्ला सुविधा लिन पाइएला भनेर जग्गा उपलब्ध गराए पनि सञ्चालनमा आउन नसक्दा दुख लागेको बताए । सम्बन्धित पक्षले यसबारे ध्यान दिएर भवन सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

गुल्मीदरबार गाउँपालिकाका योजना अधिकृत टंक पन्थीले भवनको रकम निकासा गर्नका संघीय मन्त्रालयलाई पालिकाबाट पटकपटक जानकारी गराइएको बताए । तर त्यसको सुनुवाइ नहुँदा भवन अलपत्र बन्न पुगेको उनको भनाए छ ।

पन्थीले चिकित्सकलगायत स्वास्थ्यकर्मी राख्न आन्तरिक स्रोत नहुँदा अस्पताल चलाउन नसकिएको बताए । नेपाल सरकारले २०७७ मंसिर १५ गते देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो ।
गुल्मीका अन्य पालिकामा १५ शय्याका र सदरमुकाम तम्घासमा पनि ५५ शय्याको अत्याधुनिक अस्पता भवन निर्माण भइरहेको छ ।

गुल्मीदरबार गाउँपालिकामा हाल ४ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । जसमध्ये २ वटा वडामा सुरक्षित गर्वपतन सेवा उपलब्ध छ । गाउँपालिकामा हाल स्वास्थ्य चौकीबाहेक अन्य कुनै पनि अस्पताल रहेका छैनन् । त्यहाँका नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता छ ।

गाउँपालिकाले यस आर्थिक वर्षमा पालिकामै १५ शय्याको अस्पताललाई सञ्चालनमा ल्याउने भनेको थियो । त्यसका लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा एमबीबीएस डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्ने जनाएको थियो ।

गाउँपालिकामा एमबीबीएस डाक्टरसहितको सेवा सञ्चालनमा ल्याउदा यहाँका धेरै नागरिक स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको हट्ने गाउँपालिकाको भनाइ थियो ।

प्रकाशित : ३१ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६