दाङ २१ जेष्ठ । सदस्यता शुद्धीकरणको नाममा पत्रकारलाई हटाएको भन्दै पत्रकार महासंघ घोराहीमा तालाबन्दी गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बिदुर एमसी र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेश रिजालले शनिबार नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयको गेटमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
क्रियाशील पत्रकारहरुको सदस्यता नवीकरण तथा नयाँ सदस्यता दिने सवालमा भेद्भावपूर्ण व्यवहार गरिएको प्रगतिशील पत्रकार संघले आरोप लगाएको छ । आस्थाकै आधारमा सदस्यता नवीकरण नगरिएका पत्रकारहरुको सदस्यता नवीकरण गरिनुपर्ने, नयाँ क्रियाशील पत्रकारहरुलाई सदस्यता प्रदान गर्नुपर्ने र स्थानान्तरण गरिएका पत्रकारहरुको प्रस्तावित जिल्लाहरुमा कायम हुनुपर्ने संघले माग गरेको छ ।
यसैबीच पत्रकार एमसी र रिजालले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यालयमा समेत अनिश्चितकालिन तालाबन्दी गरेका छन् । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बिदुर एमसी र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेश रिजालले केही दिन अघि पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यालय सातमाराको नबनर्मित कार्यालयमा तालाबन्दी गरेका हुन् । महासंघले रिजाल र एमसीको सदस्यता खारेज गरेपछि उनीहरु दुबै महासंघप्रति रुष्ट बनेका छन् ।
यता आफूहरुको माग सम्बोधन नभए पत्रकार महासंघ दाङ शाखाको कार्यालय अगाडी आमरन अनसन शुरु गर्ने प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बिदुर एमसीले चेतावनी समेत दिएका छन् । उनले आफू अहिले सम्म कुनै लाभको पदमा समेत नरहेको र लगातार पत्रकािरता मै कृयाशिल रहेको अवस्थामा सदस्यता हटाउनु गैर जिम्मेवार कार्य भएको भन्दै पत्रकार महासंघ केन्द्रिय समितीप्रति कडा आपत्ति जनाएका छन् ।
प्रतिक्रिया