एजेन्सी २३ जेठ । देशभर बढिरहेको गर्मीबीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीको हृदयाघातका कारण मृत्यु भएको छ । निर्वाचन अधिकारीले दिएको जानकारीअनुसार ती कर्मचारीको गर्मीका कारण मृत्यु भएको हो ।भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम रहेको छ । सोही कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६।९ डिग्री सेल्सियस पुगेको छ।
सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ जना मतदानकर्मीको मृत्यु भएको बताएका छन् । तथ्याङ्कमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारीहरू समावेश रहेका थिए ।
जब कुनै व्यक्ति डिहाइड्रेटेड हुन्छ, अत्यधिक गर्मीका कारण रगत जम्ने र अङ्गहरूनले काम गर्न छोड्ने भई मानिसहरूको मृत्यु हुने विशेषज्ञहरू बताउँछन् ।मौसम सम्बन्धी कार्यालयले औसतभन्दा बढी तापक्रम हुने र मे महिनाको अन्त्यसम्म तातो हावा चल्ने भविष्यवाणी गरेको छ। सन् १९०१ देखि २०१८ सम्म भारतमा औसत तापक्रम ०।७ प्रतिशतले बढेको छ र यसका लागि जलवायु परिवर्तन पनि एउटा कारण हो।
प्रचण्ड गर्मीले सन् १९९२ देखि २०१५ सम्म २२ हजार भन्दा बढीको ज्यान लिएको आधिकारिक आँकडाहरूमा उल्लेख छ। विज्ञहरूले वास्तविक सङ्ख्या अझ बढी हुनसक्ने ठानेका छन्।तर भारतले अझै पनि “तापको महत्त्व र त्यसले कसरी ज्यान लिन्छ भन्ने कुरा बुझ्न नसकेको” गुजरात मूख्यालय रहेको इन्डियन इन्स्टीच्युट अफ पब्लिक हेल्थका निर्देशक दिलिप माभालान्कर बताउँछन्।
प्रतिक्रिया