कपिलवस्तु ३ असार ।। नेकपा एमालेको देशभरका ७७ मध्ये ६६ जिल्लामा अधिवेशन भयो । ढिलोमा भदौसम्म बाँकी ११ वटा जिल्लाको पनि अधिवेशनबाट नयाँ कमिटी चयन गर्नेगरी एमालेले तयारी गरेको छ ।संगठनको संरचना अझ बलियो बनाउन ग्रासरुट अभियान चलाइरहेको र २०८४ को निर्वाचन केन्द्रित अधिवेशनको रुपमा हेरिएको अहिलेको जिल्ला अधिवेशनमा भने महिलाले कार्यकारी पदको भूमिका भने अझै समावेशी ढंगले पाउन सकेका छैनन । ।
नेकपा एमालेको विधानको धारा ३६ मा जिल्ला कमिटी गठनको व्यवस्था छ । उक्तव्यवस्थाअनुसार जिल्ला कमिटी आधार संख्या ७५ जनाको हुनेगरी जिल्ला कमिटी चयन गर्नुपर्ने व्यवस्था छ । जसमा ५ पदाधिकारी रहनेछन् ।अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी पाँच पदाधिकारी चयन गर्नुपर्ने व्यवस्था भए पनि विधानले पदाधिकारीमा कुनै पद पनि समावेशीको लागि भने सुरक्षित गरेको छैन । यद्यपि क्लस्टर छुट्याएर पदाधिकारीमा उपसचिव पदमा महिला १ हुनुपर्ने गरी नयाँ कमिटी निर्माण गर्न सर्कुलर पठाएको संगठन विभाग प्रमुख माधव ढुंगेल बताउँछन् । विधान र सर्कुलरबमोजिम उपसचिवमा महिला राखे पनि अन्य पदमा भने महिला तथा अन्य समुदायको समावेशी सुनिश्चित भने गर्न सकेको देखिँदैन ।
एमालेका संगठन विभाग प्रमुख ढुंगेल महिला ३३ प्रतिशत, युवा १५ प्रतिशत गरेर सबै क्षेत्र समुदाय समेट्ने गरी जिल्ला कमिटी निर्वाचित गर्न पार्टी जिल्ला कमिटीलाई भनेको दाबी गर्छन् । उनका अनुसार निर्वाचन सम्पन्न ६६ जिल्लामा सोही व्यवस्थाका कारण ३३ प्रतिशत महिला र उपसचिव महिला आएका छन् ।
तर, विधानले जिल्ला कमिटीलाई ३३ प्रतिशत महिला सदस्य आउन सुनिश्चित गरे पनि पार्टीका नेतृत्वले नै अनिवार्य कोटाबाहेकको पदमा महिला नेतृत्व प्रोत्साहन गरेको देखिँदैन । यद्यपी उपसचिवसहित जिल्ला कमिटी सदस्यमा महिलाको बेग्लै क्लस्टरमा प्रतिस्पर्धा गर्न दिइएको छ ।यसले गर्दा जिल्ला कमिटीमा महिलाको प्रतिनिधित्व भने ह्वात्तै बढेको छ । एमालेको इतिहासमै अहिलेसम्म जिल्ला कमिटीमा ४ जनामात्रै अध्यक्ष भएका छन् । पद्मा अर्याल,मुनु सिग्देल र पार्वती रावलपछि लक्ष्मी बुढा एमालेमा अहिलेसम्म भूगोलका जिल्लामा अध्यक्ष निर्वाचित भएका महिला नेता हुन् ।
एमालेकी केन्द्रीय सदस्य तथा नेकपा विभाजनपछि एमाले चितवनको अध्यक्ष भएकी नेता दिलकुमारी रावल पार्वती भन्छिन्, ‘समावेशीतालाई बलियो बनाउन अनिवार्य विधानको व्यवस्था गर्नुपर्ने यसपालिको जिल्ला अधिवेशनहरुले पनि पुष्टि गर्यो । यद्यपि महिलाहरु पनि नेतृत्व लिन अग्रसर चाहिँ हुनुपर्छ ।’
लक्ष्मी बुढा नेकपा एमालेको अहिलेको एउटामात्रै निर्वाचित जिल्ला अध्यक्ष महिला हुन् । उनी सर्वसम्मत निर्वाचित भइन्, तर उपाध्यक्ष भइसकेको उनलाई अध्यक्षमा आउन निकै संघर्ष गर्नुपर्यो ।
‘महिलाले पनि सक्छ र १ भन्ने प्रवृत्तिका कारण सर्वसम्मत भए पनि मैले नेतृत्व चलाउन सक्छु भनेर विश्वास दिलाउनै संघर्ष गर्नुपर्यो’, अध्यक्षमा सर्वसम्मत गर्नुअघिको पहल सुनाउँदै बुढाले भनिन् करिब ३ दशक नेकपा एमालेको विभिन्न संगठनमा बिताएकी उनी पार्टीलाई कसरी अघि बढाउने भन्नेमा नीतिगत र व्यवहारिक दुबै रुपमा स्पष्ट भए पनि निर्वाचित भइसकेपछि टिप्पणी सुन्नुपर्ने अवस्था अझै कायमै रहेको बताउँछिन् ।
लक्ष्मी जस्तै पदीय दायित्वमा कोटालाई जितेर प्रतिस्पर्धाबाट नेकपा एमालेको अध्यक्षपछिको कार्यकारी पद सचिवमा नेतृत्व लिने महिलाको संख्या ६६ जिल्लामा पाँच जना छन् । उनीहरुमध्ये एकबाहेक सबैले पार्टीभित्रकै आन्तरिक लोकतन्त्र स्वीकार गरेर निर्वाचनबाट जीत हात पारे ।
अधिवेशन सकिएका ६६ जिल्ला कमिटीमध्ये सचिव निर्वाचित भएका पाँच महिलामा कोशी प्रदेशको सोलुखुम्बु जिल्लाबाट कल्पना राई, बागमती प्रदेशको धादिङ जिल्लाबाट राधिका सापकोटा र मकवानपुरबाट सीता विष्ट सचिवमा निर्वाचित छन् ।
गण्डकीको म्याग्दी जिल्लाबाट थमसरा पुन र कर्णाली प्रदेशको सल्यान जिल्लाबाट पुष्पा बोहरा सचिवमा निर्वाचित भए ।अध्यक्ष हाँक्ने लक्ष्य बोकेका पाँच जिल्ला सचिवकल्पना राई ३४ वर्षकी भइन् । राजनीतिक पृष्ठभूमि भने २२ वर्षभन्दा लामो छ । सशस्त्र द्वन्द्व चर्किएको बेला विद्यालयबाट एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्रारम्भिक कमिटीको नेतृत्व लिएकी थिइन् राईले ।
त्यसयता विद्यार्थी र अखिल नेपाल महिला संघको पनि राजनीति गरिन् । सोलुखुम्बुको नेकपा एमालेमा भने उनी लगातार चार कार्यकालसम्म पार्टी जिल्ला कमिटी सदस्य भएर काम गरिन् । अघिल्लो पटकको निर्वाचनमा आफू उपप्रमुख भएकाले कुनै पदमा पनि दाबी नगरेको उनले बताइन् ‘मैले पार्टी संगठनमा काम गरिसकेकोले आफू सचिव बनेर कार्यभार सम्हाल्न सक्षम छु भनेर उम्मेदवारी दिएको थिएँ’, राईले भने, ‘सबैले विश्वास गरेर विजयी गराउनुभयो ।’
निर्वाचनमा गएर भए पनि नेतृत्व लिन तयार भएपछि उनले सचिवमा दुई जना पुरुषसँग प्रतिस्पर्धा गरिन् । खसेको कुल ४२० मतमध्ये राईले २५९ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी ८१ र ४४ मतमा रोकिए । सचिवको जिम्मेवारी आफूले कुशलताका साथ पूरा गर्ने बताउँदै राईले थपिन्, ‘म केन्द्र र प्रदेश छोडेर भूगोलमा आएको हुँ, एक पटक जिल्ला नेतृत्व गरेर छोड्ने चाहना छ ।’
बागमती प्रदेशमा उपत्यकासहित १३ जिल्ला छन् । यहाँबाट दुई जना महिला सचिव निर्वाचित भएका छन् । तीमध्ये एक हुन् धादिङकी राधिका सापकोटा । राधिका काभ्रेमा जन्मिएकी हुन् । १३ वर्षदेखि विद्यार्थी राजननीति थालेकी उनी विवाह भएर २०५९ सालमा धादिङ आइन् । गाउँ कमिटीदेखि विद्यार्थी राजनीति गरिसकेकी उनले धादिङ आएर शून्यबाट राजनीतिक करिअर थालेको बताउँछिन् ।
सातौं जिल्ला अधिवेशनबाट नेकपा एमाले धादिङ जिल्ला कमिटी प्रवेश गरेकी उनी यसअघि उपसचिव थिइन् । उपसचिव हुँदा संगठन विभागको जिम्मेवारी आएकोले सचिवकै जस्तो भूमिकामा रहेको उनको अनुभव छ । अध्यक्ष बनेरमात्रै पार्टीको अन्य भूमिकामा जाने लक्ष्य बोकेकी राधिकालाई सचिव बन्न भने सजिलो भएन ।
अधिवेशनका ५७८ प्रतिनिधिमध्ये अधिकांशले सचिवमा स्वीकार गरिसक्दा पनि सर्वसम्मत हुन नसकेको उनको भनाइ छ । ‘हामीलाई कामले प्रमाणित गर्नुपर्ने चुनौती छ’, उनले भनिन्, ‘तर, यहाँ कामका आधारमा होइन महिला भएर यति गर्नुभएछ भनेर तुलना गरिन्छ ।’
चुनौतीका बीचमा पनि पार्टीको सबै कमिटीमा पुग्न र नेतृत्व गर्न अहिलेदेखि नै तयार राधिका थप्छिन्, ‘म एमालेले नै हुर्काएको कार्यकर्ता हुँ, एक पटक जिल्लाको नेतृत्व लिएरमात्रै छोड्छु भनेर निर्णय गरिसकेको छु ।’त्यसैगरी मकवानपुर एमालेले पनि सचिवमा महिला पाएको छ । एक पटक एमालेले महिला नेतृत्व पाइसकेको जिल्ला मकवानपुरमा सचिव पदको उम्मेदवारी दिँदा सीता विष्ट दुई जना पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्यो । पार्टीको आन्तरिक लोकतान्त्रिक पद्धतिबाट ४२ मतको फरकले विजेता पनि बनिन् सीता ।
२०४६ सालदेखि निरन्तर नेकपा एमालेको सम्पर्कमा रहेकी उनको पारिवारिक राजनीतिक पृष्ठभूमि अझ पार्टीमा निरन्तर लाग्न सहयोगी भयो । मकवानपुरमै जन्मिएर त्यही राजनीति गरेकी उनलाई राजनीतिमा अघि बढ्न पनि सहज भयो । तीन सन्तानका आमा भएपछि उनी पुनः राजनीतिमा आइन् । यद्यपि २०५३ सालमै उनले संगठित सदस्यता लिएकी थिइन् ।
त्यसपछि अनेमसंघ हुँदै अघिल्लो कार्यकाल उपसचिव भएकी सीताले सचिवमा निर्वाचित भएपछि पार्टी तथा संगठन सुधारको योजना अघि सारेकी छन् । उनले मकवानपुरमा पार्टीको संगठनात्मक सुधार गर्दै सदस्य संख्या १५ हजार पुर्याउने बताइन् ।
म्याग्दीबाट निर्वाचित थमसरा पुनलाई चाहिँ पार्टीका जिल्ला नेतृत्व तथा कार्यकर्ताकै आवश्यकतामा सर्वसम्मत गरिएको हो । पुनको राजनीतिक पृष्ठभूमि विद्यालय विस्तार योजनासँग जोडिएको छ । हुन त २०५४ सालमा स्थानीय तह निर्वाचनमा एमालेबाटै निर्वाचित मुदी गाविस ६ की वडा सदस्य हुन् उनी ।
तर, एमालेको संगठित सदस्य भने २०६३ सालपछि मात्रै भएकी हुन् । वडा सदस्य निर्वाचित भएपछि तनहुँ पुगेर सीएमए पढेकी उनले काठमाडौं पुगेर बाँकी पढाइ पुरा गरिन् काठमाडौंबाट गाउँको विद्यालयमा शिक्षक बनेर फर्किएकी पुन प्राथमिक विद्यालयको संरचना र दरबन्दी बढाउने अभियानमा एमालेसँग पुनः सम्पर्कमा पुगिन् । त्यसपछि मात्रै संगठित सदस्य बनेकी पुन जिल्ला कमिटी र अखिल नेपाल महिला संघको नेतृत्व विद्यालयको प्रधानाध्यापक हुँदैमा थिइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा म्याग्दीकै धवलागिरी गाउँपालिकाको अध्यक्ष निर्वाचित भइन् उनी । २०७९ मा पनि उम्मेदवार भए पनि उनले पराजय भोग्नुपर्यो ।
यद्यपि राजनीतिक यात्रा र पार्टीप्रतिको इमानदारिता नछोडेको बताउँदै भन्छिन्, ‘म मदन भण्डारीको निष्ठा बुझेर एमालेमा लागेको मान्छे हुँ । इमानदार भएर काम गर्दा जिम्मेवारीहरु थपिँदै आए । फेरि पनि अध्यक्षको जिम्मेवारीसमेत आयो भने पनि इमानदार भएर पूरा गर्नेछु ।
कर्णाली प्रदेशको सल्यानबाट एमाले जिल्ला सचिव बनेकी पुष्पा बोहरा व्यवस्था बदल्ने अभिलाषामा सशस्त्र युद्धमा समेत होमिएकी महिला हुन् । यद्यपि उनले नेकपा एमालेको राजनीति रोजिन् । २०६४ सालको संविधानसभा निर्वाचनमा जनसांस्कृतिक मञ्चमार्फत एमाले जिताउन हिँडिन् ।
त्यसयता २०६५ सालमा युवा संघ नेपालको कोषाध्यक्ष, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै पार्टीको जिल्ला सदस्य बनेकी हुन् । २०७० र २०७३ साल दुई कार्यकाद नेकपा एमालेको जिल्ला कमिटी सदस्य थिइन् । उनले सिद्धकुमाल गाउँपालिकामा उपाध्यक्षको जिम्मेवारी लिएर पालिका हाँकिसकेकी छन् । नवौं जिल्ला कमिटीको अधिवेशनबाट बोहरा उपसचिव निर्वाचित भइन् ।
उपसचिवमा संगठन निर्माणको जिम्मेवारी बुझिसेकपछि पार्टीको सचिवमा आउने चाहना राखे पनि उनी सर्वसम्मत भने भइनन् । उनले पुरुष प्रतिस्पर्धीसँग निर्वाचन लडिन् । आन्तरिक लोकतन्त्रमार्फत मतदान गरेका एमाले प्रतिनिधिले उनलाई मत दिएर विजेता बनाए ।व्यवस्था बदल्न राजनीतिलाई जीवन सुम्पिएकी उनी एक पटक जिल्ला हाँक्ने योजनामा छिन् । यद्यपि पार्टीभित्रै महिलालाई स्वीकार गर्न नसक्ने प्रवृत्ति रहेको बताउँदै उनी भन्छिन्, ‘नेतृत्वप्रतिको दृष्टिकोण महिला र पुरुष भन्ने आँखाबाट बदल्न नसक्दा असजिलो महसुस गर्छु । यद्यपि नेतृत्वमा आएपछि व्यक्तिले भन्दा पनि कामले स्थापित हुने हो ।’
प्रतिक्रिया