काठमाडौँ ९ साउन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत् लाइन जडान गरेको छ ।प्राधिकरणको सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेसँगै आज साँझ ८ बजेदेखि विद्युत् जडान भएको हो ।प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री खड्काको अध्यक्षताको बैठकले उद्योगमा काटिएका लाइन पुनः जडान गर्ने निर्णय गरेसँगै प्राधिकरणले आज रातिदेखि उक्त उद्योगमा विद्युत् जडान गरेको हो ।
प्राधिकरणले तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनः बक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी सञ्चालक समितिको बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।
उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटेको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उद्योगीको लाइन जोडेर बाँकी समस्या वार्ता र छलफलद्वारा समाधान गर्न निर्देशन दिएका थिए ।








प्रतिक्रिया