क्पिलवस्तु १६ साउन । लुम्बिनी प्रदेशक मुख्यमन्त्री चेतनारायण आचार्यले एक सातासम्म पनि मन्त्रीहरुको कार्यविभाजन गर्न सकेका छैनन् । यही साउन ९ गते सपथग्रहण गरेका प्रदेशका मन्त्रीहरुको मन्त्रालय नतोकिंदा कामकाज समेत प्रभावित हुन थालेको छ ।काँग्रेस र एमालेबिचको भागबण्डा नमिल्दा मन्त्रालय तोक्न मुख्यमन्त्री असफल भएका हुन् । अहिलेसम्म सपथग्रहण गरेका ८ जना मन्त्री बिनाविभागीय छन् ।बिनाविभागीय हुँदा उनीहरु मन्त्रालय जान पाएका छैनन् भने निजी कामका लागि समय बिताइरहेका छन् । मुख्मन्त्री चेतनारायण आचार्यले एमाले र काँग्रेसबाट ४–४ जना सहभागी गराएर मन्त्रीपरिषद गठन गरेका थिए । काँग्रेसले आफ्नो भागमा परेको थप एकजना मन्त्रीको नाम भने अहिलेसम्म पनि दिन सकेको छैन ।
दुवै दलले महत्वपूर्ण र आकर्षक मन्त्रालयमा दावी गरेका कारण कार्यविभाजनमा ढिलाई भएको एक मन्त्रीले जानकारी दिए । नेपाली कांग्रेसभित्र मन्त्री चयनको विषयमा असन्तुष्टि छ । केन्द्रले सिधै हस्तक्षेप गरेर प्रदेशका मन्त्री नियुक्त गरेको भन्दै कांग्रेस प्रदेश समिति सभापति अमर पुनले विज्ञप्ती निकालेरै असन्तुष्टि जनाएका छन् ।अर्थ मन्त्रालयमा एमाले र कांग्रेस दुवैले दाबी गरेका छन् । यस्तै सहरी विकास मन्त्रालयमा पनि दोहोरो दाबी देखिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले यहाँ साना दलहरूलाई सरकारमा सहभागी गराउने तयारी भए पनि मन्त्रालय भागबण्डा हुन बाँकी रहेकाले साना दलको बारेमा निर्णय गर्न ढिला भएको बताए । उनले नयाँ प्रदेश प्रमुख नियुक्त भएकाले उनको सपथग्रहण लगत्तै मन्त्रीहरुको कार्यविभाजन हुने बताए ।नेपाली कांग्रेसबाट मन्त्री बनेका सरोज थापाले कुन मन्त्रालय कसले पाउने भन्ने अझै टुङ्गो नभएको बताए ।एमालेबाट विनाविभागीय मन्त्री बनेका भूमिश्वर ढकालले साउन १६ गते यता मन्त्रालयको भागबण्डा टुङ्ग्याउने सम्भावना कम रहेको जानकारी दिए । उनले मुख्यमन्त्री र नेपाली कांग्रेस संसदीय दलका नेता बसेर मन्त्रालयको भागबण्डा टुङ्ग्याउने सहमति भएको बताए ।लुम्बिनीमा जनमत पार्टी, लोसपा, जसपा, नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जान आतुर छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसको थप एक जना मन्त्री र साना दलबाट २ गरी अझै ३ जना मन्त्री बन्ने बताए । तर साना दलमध्ये कसलाई सरकारमा सामेल गर्ने भन्नेबारे प्रस्ट भइनसकेको उनको भनाइ छ ।लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेयले आफूहरू सरकार जाने करिब निश्चित भएको बताए । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्म बहादुर चौधरीले पनि सरकार जाने विषयमा अनौपचारिक छलफल चलिरहेको बताए ।यस्तै जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा जाने सोच बनाएको बताए । उनले संघ, मधेस र लुम्बिनी प्रदेशमा सरकारमा आफ्नो पार्टी सहभागी हुने खुलाए । अकोश राई नेतृत्वको जसपा पनि लुम्बिनी सरकारमा जान इच्छुक देखिएको छ ।
१६ श्रावण २०८१, बुधबार
प्रतिक्रिया